बजेटको मुख्य लक्ष्य समन्यायिक समुन्नति र समृद्धि हासिल गर्नु हो : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटले आर्थिक वृद्धि र समानताबीच सन्तुलन कायम गर्ने प्रयास गरेको बताए।
विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट ल्याइएको आरोप लगाइरहेका बेला अर्थमन्त्री वाग्लेले उक्त आरोपको खण्डन गर्दै बजेट समावेशी विकास र सामाजिक न्यायको उद्देश्यअनुसार तयार गरिएको बताए।
उनका अनुसार बजेटको मुख्य लक्ष्य समन्यायिक समुन्नति र समृद्धि हासिल गर्नु हो। बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समानताको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने गरी कार्यक्रमहरू समेटिएको उनले बताए।
अर्थमन्त्री वाग्लेले सरकार जनतासँग गरेका प्रतिबद्धता र निर्वाचनमार्फत अनुमोदित एजेन्डाप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरे। नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता तथा प्रस्तुत बजेटबीच उच्च स्तरको संगति रहेको उनको दाबी थियो।
‘मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एक ठाउँमा रह्यो, तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डा हो। त्यसप्रति अत्यन्तै बफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौं,’ अर्थमन्त्री वाग्लेले भने।
उनले विपक्षी दलहरूलाई आफ्नो राजनीतिक दृष्टिकोणअनुसार बजेटप्रति असहमति जनाउने अधिकार रहेको उल्लेख गर्दै सरकारले भने आफ्ना घोषित लक्ष्य र प्राथमिकताअनुसार बजेट निर्माण गरेको जिकिर गरे।
