`

अर्थमन्त्रीको अभिव्यक्तिमा एमालेद्वारा संसदीय छानबिनको माग(भिडियाे)

Nepal One HD २९ जेठ २०८३ १२:०३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै प्रतिपक्ष कुनै पनि विषयलाई तथ्यसहित छानबिन गर्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षी सांसदहरूको विगतका गतिविधिबारे आफू जानकार रहेको र आवश्यक परे सार्वजनिक गर्ने चेतावनी दिएपछि संसदमा थप बहस चर्किएको हो।

सोही विषयमा प्रतिक्रिया दिँदै सांसद बरालले विगतका सबै घटनालाई ‘दूधको दूध र पानीको पानी’ छुट्याएर छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताए। उनले सत्यतथ्य उजागर गर्न आफूहरू खुला रहेको उल्लेख गर्दै कमजोरी भए सच्याउन पनि तयार रहेको धारणा राखे।

तर, उनले अर्थमन्त्रीले विगतका सन्दर्भ उठाउँदै वर्तमान बजेट प्रक्रिया प्रभावित पार्ने प्रयास गरेको आरोप लगाए। बजेटको दररेट र राजस्वसम्बन्धी निर्णयमा छेडखानी भएको भन्दै उनले गम्भीर प्रश्न उठाए।

बरालले यस्तो विषयबाट अर्थमन्त्री उम्किन नपाउने दाबी गर्दै तत्काल ध्यानाकर्षण गराउन सभामुखसमक्ष आग्रह गरे। उनले संसदीय छानबिन समिति गठन गरेर मात्रै यस्ता विषयको निष्पक्ष निरूपण सम्भव हुने बताए।

उनका अनुसार, छानबिन नगरी यस्ता विवाद निरन्तर दोहोरिने र गलत अभ्यास बस्ने खतरा रहने भएकाले स्थायी समाधानका लागि संसदीय छानबिन आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *