`

कण्डम प्रयोगकर्ता बढेपनि घटेन एचआईभी/एड्स

Nepal One HD २९ जेठ २०८३ १२:२७
समाचार

रौतहट । जिल्लामा कण्डम प्रयोगकर्ताको संख्या बढे पनि एचआईभी/एड्स संक्रमण दरमा कमी नआएको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार हालसम्म जिल्लामा ५ सय ४० जनामा एचआईभी संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहका अनुसार संक्रमितमध्ये ४२५ जना नियमित रूपमा एन्टिरेट्रोभाइरल (एआरटी) औषधि सेवन गरिरहेका छन् भने बाँकी ११५ जना जिल्लाबाहिर बसोबास गर्ने वा नियमित उपचार सम्पर्कमा नरहेको अवस्था छ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी राजपुर नगरपालिकामा ६७ जना रहेको तथ्यांक छ। पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका भन्दा पनि जिल्लामै कार्यरत सवारी चालक, प्रहरी तथा मजदुरहरूमा संक्रमण बढी देखिन थालेको प्रमुख सिंहले बताए।

उनका अनुसार एचआईभी संक्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार र कण्डमको सही प्रयोग अत्यावश्यक भए पनि त्यसको प्रयोगमा सही ज्ञान र जनचेतनाको कमी देखिएको छ।

प्रादेशिक गौर अस्पतालका चिकित्सक डा. शशी गुप्ताले एचआईभी असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिञ्ज तथा संक्रमित आमाबाट शिशुमा सर्ने सम्भावना रहने बताए। उनका अनुसार नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार र कण्डमको सही प्रयोगबाट संक्रमण नियन्त्रण गर्न सकिन्छ।

डा. गुप्ताले एचआईभी संक्रमित व्यक्तिले नियमित एआरटी औषधि सेवन गरे सामान्य जीवनयापन गर्न सक्ने उल्लेख गर्दै रोग लुकाएर नबस्न र समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *