ठुलो अन्तरले घट्यो कच्चा तेलको मूल्य
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त भएको घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। ब्रेन्ट क्रूड तेलको मूल्य करिब प्रति ब्यारेल ८९ अमेरिकी डलरमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.४ प्रतिशतले कमी हो।
यसैबीच, इजरायली प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति ट्रम्पबीच वार्ता भएको पुष्टि गरेको छ। तर इजरायल हालसम्म उक्त समझदारी पत्रको पक्ष नभएको स्पष्ट पारेको छ।
प्रधानमन्त्री नेतान्याहुको कार्यालयद्वारा जारी विज्ञप्तिमा ट्रम्पको प्रतिबद्धताको प्रशंसा गरिएको छ। सो प्रतिबद्धताअन्तर्गत अन्तिम सम्झौताले तेहरानको संवर्धित युरेनियम हटाउने, आणविक पूर्वाधार नष्ट गर्ने, मिसाइल उत्पादन सीमित गर्ने र इरानले क्षेत्रीय सशस्त्र समूहहरूलाई दिँदै आएको समर्थन रोक्ने व्यवस्था हुने उल्लेख छ।
यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो हवाई आक्रमण गरेपछि तनाव चरममा पुगेको थियो। त्यसको प्रतिक्रियामा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित आक्रमण गरेको थियो भने विश्वको प्रमुख तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको थियो।
गत अप्रिलमा युद्धविरामको सहमति भए पनि अमेरिका र इरानबीच समय–समयमा छिटपुट आक्रमण भइरहेका थिए। यसै हप्ता पनि दुवै पक्षबीच जवाफी कारबाही भएको थियो। यस्तो परिस्थितिबीच ट्रम्पले युद्ध समाप्तिको घोषणा गरे पनि इरानले यसलाई अमेरिकी रणनीतिक चालका रूपमा व्याख्या गरेको छ।
