आफ्नै आधा मुटुको खोजीमा तारा लावतीकाे ‘उडी उडी’ सार्वजनिक
काठमाडौं । गायिका तथा अभिनेत्री तारा लावतीको स्वर र अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘उडी उडी’ सार्वजनिक भएको छ। भिडियोमा तारा लावतीसँगै निर्भिक राईको अभिनय रहेको छ।
गीतमा डा. कृष्णहरि बराल को शब्द, महेश खड्काको संगीत तथा दीपा सुहाङ र अप्सु योगीको कोरस स्वर रहेको छ।
‘उडी उडी’ले प्रेम, आत्मखोज र जीवनको पूर्णताको खोजलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतको मुख्य भाव ‘आधाले कहाँ जीवन चल्छ सधैंभरी, आफ्नै आधा मुटु खोज्न उडी चरी’ भन्ने हरफमा केन्द्रित छ।
गीतले मानिसको जीवन अधुरो रहँदा उसले आफ्नो अस्तित्व, प्रेम र आत्मीय सम्बन्धको खोजीमा निरन्तर यात्रारत रहने मनोविज्ञानलाई अभिव्यक्त गरेको छ।
गीतमा प्रेम सम्बन्धको विषय नभई आत्मपहिचानको यात्राका रूपमा चित्रित गरिएको छ।
‘कस्तो हुन्छ माया ? साँच्चै जान्ने यो मन’ भन्ने भावमार्फत प्रेमप्रतिको जिज्ञासा, उत्सुकता र अनुभूतिलाई उजागर गरिएको छ।
धर्ती र गगनसँग संवाद गरेझैं प्रस्तुत गरिएका शब्दहरूले प्रेमको अर्थ खोज्ने मनको बेचैनी र आकांक्षालाई झल्काउँछन्।
त्यसैगरी ‘फिँजाएर मनको पंखा, मनकै आकाशभरी’ भन्ने अभिव्यक्तिले स्वतन्त्रता, सपना र सम्भावनाको संसारमा उड्न चाहने मनको चित्र कोरेको छ।
चरीको विम्ब प्रयोग गर्दै गीतले प्रेम, आशा र आत्मविश्वासको खोजमा अघि बढ्ने जीवनयात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
सार्वजनिक म्युजिक भिडियोले गीतको भावलाई दृश्यात्मक रूपमा उतार्दै प्रेम र आत्मखोजको संवेदनशील कथा प्रस्तुत गरेको छ। गीतले प्रेमलाई केवल दुई व्यक्तिबीचको सम्बन्धका रूपमा होइन, जीवनलाई पूर्ण बनाउने भावनात्मक खोजका रूपमा व्याख्या गरेको छ।
