रास्वपा कर्णाली प्रदेशको सभापतिको लागि तीन जनाको उम्मेदवारी
वीरेन्द्रनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश अधिवेशनअन्तर्गत वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय सभापतिको दौडमा रहेका छन्।
खड्का र उपाध्याय सुर्खेतका हुन् भने बस्नेत दैलेखका हुन्। प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीनै जनाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
अधिवेशन आइतबारदेखि सुरु भए पनि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण मतदान प्रक्रिया प्रभावित भएको थियो। प्रतिनिधिको वैधानिकताबारे उठेको विवाद समाधान नभएपछि आइतबार मतदान हुन सकेको थिएन। यद्यपि विवाद यथावत् रहेकै अवस्थामा सोमबारदेखि मतदान प्रक्रिया अगाडि बढाइएको प्रदेश तहका एक नेताले जानकारी दिए।
उनका अनुसार पार्टी समायोजनको प्रक्रियामा रहेकाले विभिन्न समूह र तहका कार्यकर्तालाई समेट्ने उद्देश्यले प्रतिनिधि चयन गरिएको हो। अधिवेशनमा करिब ५३० प्रतिनिधि सहभागी रहेकामा झन्डै ३०० प्रतिनिधिको विषयमा विवाद रहेको बताइएको छ।
रास्वपाको विधानअनुसार कर्णाली प्रदेश समिति ४१ सदस्यीय हुनेछ। पहिलो चरणमा सभापति र सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा उपसभापति, महामन्त्री, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारीको चयन गरिने व्यवस्था रहेको छ।
प्रतिनिधि विवादका बाबजुद नेतृत्व चयन प्रक्रिया अघि बढाइएकाले अधिवेशनको परिणामलाई चासोका साथ हेरिएको छ।
