`

मधेश प्रदेशका सांसदहरुसँग सभापति लामिछानेले गरे छलफल

Nepal One HD ३ असार २०८३ १२:०२
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले मधेश प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सञ्चालनको तयारी र देखिएका चुनौतीबारे पार्टीका प्रदेश सांसदहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार आयोजित छलफलमा मधेश प्रदेशका रास्वपा सांसदहरू सहभागी भएका थिए। बैठकमा विशेषगरी मधेश प्रदेश अधिवेशनको वर्तमान अवस्था, संगठन विस्तार, कार्यकर्ताबीच देखिएको असन्तुष्टि तथा अधिवेशन प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रित भएर कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

रास्वपाले देशका विभिन्न प्रदेशमा संगठन विस्तार तथा अधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला मधेश प्रदेशमा भने आन्तरिक विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित बनेको छ। यही कारण पार्टीले मधेश प्रदेशका कुनै पनि जिल्लामा हालसम्म अधिवेशन सम्पन्न गर्न सकेको छैन। अधिवेशनको मिति घोषणा भए पनि विभिन्न तहका नेताहरूबीचको मतभेद, संगठनात्मक व्यवस्थापनका विषय तथा नेतृत्व चयन प्रक्रियासम्बन्धी असहमतिको असर अधिवेशनमा परेको बताइएको छ।

छलफलका क्रममा सांसदहरूले जिल्लागत अवस्था, कार्यकर्ताको मनोभावना तथा अधिवेशन सञ्चालनमा देखिएका अवरोधबारे सभापतिलाई जानकारी गराएका थिए। उनीहरूले संगठनलाई एकताबद्ध बनाएर अधिवेशन सफल बनाउन आवश्यक पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ।

सभापति लामिछानेले पनि पार्टीभित्रका समस्या संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ। उनले संगठनात्मक एकता कायम राख्दै अधिवेशन प्रक्रिया छिट्टै सम्पन्न गर्न आवश्यक तयारी र समन्वयमा जुट्न सांसदहरूलाई आग्रह गरेको सचिवालयले जनाएको छ।

रास्वपाले आगामी केन्द्रीय महाधिवेशनको तयारीलाई समेत तीव्र बनाइरहेका बेला मधेश प्रदेश अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ। प्रदेश अधिवेशन सम्पन्न भएपछि संगठनात्मक संरचना थप मजबुत हुने र पार्टी गतिविधिलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

पार्टी नेतृत्वले मधेश प्रदेशमा देखिएको विवाद समाधानका लागि निरन्तर संवाद र परामर्शको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *