`

रास्वपा महाधिवेशनलाई प्रधानमन्त्री बालेन शाहले ५ मिनेट सम्बोधन गर्ने

Nepal One HD ४ असार २०८३ १३:१९
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले पनि सम्बोधन गर्ने भएका छन्। चितवनमा हुने उक्त महाधिवेशनमा बालेनले ५ मिनेट सम्बोधन गर्ने जनाइएको छ।

महाधिवेशनमा बालेनको उपस्थितिलाई विशेष महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री भएयता जम्मा दुईपटक सार्वजनिक सम्बोधन गरेका उनले एकपटक सेनाको कार्यक्रममा बोलेका थिए भने अर्को पटक संसदमा बोलेका थिए। त्यसबाहेक २१ फागुनको निर्वाचनयता उनले कहीँ पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। कतिसम्म भने उनी रास्वपा संसदीय दलको बैठक तथा रास्वपा मुख्यालय चमतीमा समेत पाइला टेकेका छैनन्।

महाधिवेशनको तयारी तीव्र पारिएको र देशभरबाट प्रतिनिधिहरू चितवन पुग्ने क्रम सुरु भएको पार्टीले जनाएको छ। महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार, नीति तथा नेतृत्व चयनलगायत विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। पार्टी स्थापना भएयता पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो संगठनात्मक सुदृढीकरण तथा भावी राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको आगामी नेतृत्व संरचना र राजनीतिक रणनीति तय गर्ने भएकाले यसलाई नेपाली राजनीतिको चासोको केन्द्रका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *