चियापछि विधुतमा भारतको अवरोध : बंगलादेशमा २० मेगावाट विधुत निर्यात गर्न दिएन अनुमति
काठमाडौं । भारतले प्रसारणलाइन क्षमताको कारण देखाउँदै सहमति नदिएपछि नेपालले बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना तत्कालका लागि स्थगित भएको छ। यसबाट नेपालले एक सिजनमै करिब ७१ करोड रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाएको छ।
नेपाल विद्युत् प्राधिकरणले भने सोमबारदेखि भारतीय प्रसारणलाइनमार्फत बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। नेपाल र बंगलादेशबीच भएको सम्झौताअनुसार हरेक वर्ष असार १ देखि कात्तिक ३० सम्म पाँच महिनाका लागि ४० मेगावाट विद्युत् बिक्री हुँदै आएको छ।
गत मंसिरमा बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले यही सिजनदेखि थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको थियो। सोहीअनुसार निर्यात मात्रा ४० मेगावाटबाट बढाएर ६० मेगावाट पुर्याउने तयारी गरिएको थियो।
तर भारतीय प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले भारतको सहमति अनिवार्य थियो। नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको त्रिपक्षीय सम्झौता संशोधन गरेर निर्यात मात्रा बढाउने योजना भए पनि भारतीय पक्षले अनुमति नदिएको हो।
प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारत–बंगलादेश अन्तरदेशीय प्रसारणलाइनको क्षमताले थप विद्युत् वहन गर्न नसक्ने भन्दै २० मेगावाट थप निर्यातको प्रस्ताव अस्वीकार गरेको छ। भारत–बंगलादेश प्रसारणलाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने भए पनि भारतले आफ्नै निर्यात मात्रा बढाएका कारण थप क्षमता उपलब्ध नभएको जनाएको छ।
थप २० मेगावाट विद्युत् निर्यात गर्न पाएको भए पाँच महिनाको अवधिमा करिब ७ करोड ३४ लाख युनिट अतिरिक्त विद्युत् बिक्री हुने थियो। त्रिपक्षीय विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार नेपालले प्रति युनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्ने व्यवस्था छ। त्यसअनुसार नेपालले एक सिजनमा थप ४७ लाख अमेरिकी डलर अर्थात् हालको विनिमयदरअनुसार झन्डै ७१ करोड रुपैयाँ आम्दानी गर्न सक्ने थियो।
हाल कायम ४० मेगावाट विद्युत् निर्यातबाट भने नेपालले वार्षिक ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी गर्दै आएको छ। भारतको असहमतिका कारण थप निर्यातको योजना रोकिँदा नेपालको विद्युत् व्यापार विस्तारको प्रयासमा धक्का लागेको छ।
