`

यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरु

Nepal One HD ४ असार २०८३ १६:२४
राजनीति

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमार्फत पार्टीका विभिन्न तहका भेला तथा अधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

बैठकले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। सोही बैठकले वडा, पालिका र जिल्ला तहसम्मका संगठनात्मक भेला तथा अधिवेशनको कार्यतालिका पनि स्वीकृत गरेको पार्टीले जनाएको छ।

निर्णयअनुसार, समिति गठन नभएका वडाहरूमा जेठ २ गते वडा भेला हुनेछ। त्यस्तै, वैशाख २० गतेसम्म समिति गठन भइसकेका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गर्ने तय गरिएको छ। यसले तल्लो तहको संगठनलाई छिटो संरचित गर्ने उद्देश्य लिएको देखिन्छ।

पालिका तहमा पनि छुट्टाछुट्टै तालिका तय गरिएको छ। समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला हुनेछ भने वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन गरिनेछ। यसरी संगठनात्मक तयारीका आधारमा फरक-फरक मितिमा अधिवेशन सञ्चालन गरिनेछ।

त्यस्तै, जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन गर्ने निर्णय गरिएको छ। त्यसैगरी, जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका पनि तय गरिएको छ।

जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते सम्पन्न गर्ने योजना बनाइएको छ। यससँगै पार्टीले वडादेखि जिल्ला तहसम्मको संगठनात्मक संरचनालाई व्यवस्थित रूपमा अधिवेशनमार्फत पुनः सक्रिय बनाउने तयारी गरेको छ।

बैठकले संगठन विस्तारसँगै विभिन्न विभाग तथा तहबाट प्राप्त सिफारिसका आधारमा केही महत्वपूर्ण मनोनयनसमेत गरेको छ। निर्णयअनुसार ‘र्‍याट’ समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा एपिएफका पूर्व डिआइजी बिदुर खड्का मनोनीत भएका छन्।

त्यस्तै, स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी र सचिवमा हरि जोशी, शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी तथा केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेललाई मनोनयन गरिएको छ।

यसैगरी, कञ्चनपुर जिल्ला सभापतिको जिम्मेवारी पदम बिष्टलाई दिइएको छ। बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय पनि गरेको छ।

पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णयसमेत बैठकले गरेको रास्वपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *