`

राप्रपाबाट १०७ जनाले किन दिए सामूहिक राजीनामा ?

Nepal One HD ५ असार २०८३ १२:१५
बिशेष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

पार्टी आफ्नो मूल नीति, सिद्धान्त र विचारबाट विचलित भएको आरोप लगाउँदै उनीहरूले राजीनामा घोषणा गरेका हुन्।

जिल्ला अध्यक्ष सिम्खडाले जारी गरेको वक्तव्यमा राप्रपाको नीति र व्यवहारबीच एकरूपता नरहेको तथा पार्टी क्रमशः आफ्नो वैचारिक मार्गबाट टाढिँदै गएको उल्लेख गरिएको छ।

‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेकाले हामीले संयुक्त रूपमा राजीनामा दिएका हौँ,’ वक्तव्यमा भनिएको छ।

यसअघि सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले पार्टीबाट अलग हुने निर्णय गरेको जनाइएको छ। राजीनामा दिने समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दलमा आबद्ध हुने तयारीमा रहेको स्रोतले जनाएको छ।

पार्टी त्याग गर्नेमध्ये राप्रपा काठमाडौं महानगर कमिटीका अध्यक्ष केदारबहादुर धमला पनि रहेका छन्। उनीहरूले आजकै मितिदेखि पार्टीसँगको आबद्धता अन्त्य गरी स्वतन्त्र रूपमा रहने निर्णय गरेको बताएका छन्।

राजीनामा दिएका नेता-कार्यकर्ताहरूले पार्टी छाडे पनि आफूहरू राजावादी र हिन्दूराष्ट्रसम्बन्धी मूल वैचारिक अडानबाट विचलित नहुने स्पष्ट पारेका छन्। साथै, पार्टीबाट अलग हुने अन्य नेता तथा कार्यकर्ताको नामावली क्रमशः सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।

राप्रपाको राजधानीस्थित संगठनमा एकैपटक ठूलो संख्यामा नेता–कार्यकर्ताले पार्टी परित्याग गरेको घटनालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यसले पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि र ध्रुवीकरणलाई थप उजागर गरेको विश्लेषण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *