`

लिङ्देनले धवल-दुर्गालाई लगाए एजेन्डा कमजोर पारेको आरोप

Nepal One HD ५ असार २०८३ १५:४१
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेन्डाहरूलाई पार्टीभित्रकै केही नेताहरूले कमजोर बनाउने र तुहाउने काम गरेको आरोप लगाएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन परिस्थितिमा पनि राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदै आएको भए पनि त्यसलाई पार्टीभित्रकै केही नेताहरूले अवमूल्यन गर्ने प्रयास गरेको टिप्पणी गरे।

उनले पार्टी आफ्नो मूल सिद्धान्तबाट विचलित नहुने स्पष्ट पार्दै कुनै पनि प्रकारको दोधारमा बस्न आवश्यक नभएको बताए। राप्रपाको इतिहास र पुराना नेतृत्वले योगदान गरे पनि संगठनलाई अगाडि बढाउन केही पुराना अभ्यासहरूबाट बाहिर आउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

अध्यक्ष लिङ्देनले संगठन सञ्चालनमा पुरानै शैली दोहोरिँदै गए पार्टीभित्र फुट र जुटको क्रम निरन्तर चलिरहने चेतावनी दिए। व्यक्तिगत टकराव र अहंकारका कारण पार्टी तथा मुलुक दुवै प्रभावित भएको उनले बताए।

उनले आगामी मंसिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको जानकारी दिँदै उक्त महाधिवेशनले देशलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गरे।

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक तोरणबहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धी निर्देशिका तथा संगठनात्मक निर्वाचन नियमावली प्रस्तुत गरेका थिए।

त्यस्तै महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन पेस गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *