`

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशस्थित प्रतिनिधिले एपमार्फत मत हाल्ने

Nepal One HD ६ असार २०८३ ११:५३
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका प्रतिनिधिहरूलाई विद्युतीय उपकरणमार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको मतदानमा सभापतिसहित ९९ सदस्यका लागि निर्वाचन हुनेछ। यस चरणको मतदान सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ।

उनका अनुसार निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ।

निर्वाचन तालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ भने सोही दिन साँझ पहिलो चरणको मतदान गरिने तयारी गरिएको छ। पहिलो चरणको निर्वाचन रातिसम्म सम्पन्न भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान असार ९ गते हुनेछ।

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। विदेशमा रहेका र नेपाल आउन नसकेका प्रतिनिधिका लागि भने रास्वपाले आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको छ।

विदेशस्थित करिब १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले उक्त एपमार्फत आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० जना सदस्य रहेका छन्। निर्वाचन आयोगका पदाधिकारीहरूले उम्मेदवारी दिन नपाए पनि मतदान गर्न भने पाउने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *