रास्वपा महाधिवेशन : को को छन् ‘पावरफुल’ मानिएको महामन्त्री पदका दाबेदार ?[भिडियो]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको बहस तीव्र बन्दै गएको छ। सभापति पदमा प्रधानमन्त्री बालेन्द्र शाह निर्विकल्पजस्तै देखिए पनि महामन्त्री पदमा भने कडा प्रतिस्पर्धाको संकेत देखिएको छ। पार्टीभित्र सभापतिपछिको सबैभन्दा प्रभावशाली र कार्यकारी पदका रूपमा महामन्त्रीलाई हेरिने भएकाले यस पदमा आकांक्षीहरूको संख्या पनि उल्लेख्य छ।
रास्वपाको विधानअनुसार पार्टीको दैनिक प्रशासनिक तथा सांगठनिक नेतृत्व महामन्त्रीले गर्छ। केन्द्रीय कार्यालय सञ्चालनदेखि निर्णय कार्यान्वयन, बैठक व्यवस्थापन, विभागहरूको समन्वय र पार्टी गतिविधिको सञ्चालनसम्मका जिम्मेवारी महामन्त्रीको काँधमा हुन्छन्।
पार्टीका राजनीतिक निर्णयलाई व्यवहारमा उतार्ने मुख्य जिम्मेवारी पनि महामन्त्रीकै हुन्छ। त्यसैले संगठनको वास्तविक सञ्चालन गर्ने पदका रूपमा महामन्त्रीलाई सभापतिपछिको सबैभन्दा शक्तिशाली पद मानिन्छ।
वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी पुनः उम्मेदवार बन्ने तयारीमा छन्। संस्थापक महामन्त्री डा. मुकुल ढकाल पार्टीबाट बाहिरिएपछि उनी २०८२ असारमा महामन्त्री बनेका थिए। त्यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका बुर्लाकोटीले संगठन सञ्चालनमा निरन्तरता र अनुभवलाई आफ्नो मुख्य आधार बनाउन सक्छन्।
बालेन समूहका तर्फबाट महामन्त्री बनेका भूपदेव शाहलाई पार्टी नेतृत्वले विशेष महत्व दिएको मानिन्छ। उनी वैशाख ७ गते मात्र महामन्त्री बनेका हुन्। पूर्वबालेन समूहलाई नेतृत्व तहमा सम्मानजनक स्थान दिने रणनीतिअन्तर्गत उनी फेरि महामन्त्री बन्न सक्ने चर्चा छ। पार्टीभित्र उनलाई सर्वसम्मत रूपमा चयन गराउने प्रयास हुन सक्ने चर्चा समेत चलिरहेको छ।
हालका एक मात्र सहमहामन्त्री विपिन आचार्यलाई महामन्त्री पदका बलिया दाबेदारमध्ये एक मानिन्छ। पार्टीका नीति, विधान र वैचारिक दस्ताबेज निर्माणमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ। संस्थापक समूहका नेता रहेका आचार्यले संसदमा पनि प्रभावशाली उपस्थिति जनाउँदै आएका छन्।
दीपक बोहोरालाई सभापति रवि लामिछानेका निकट सहयोगी र विश्वासपात्रका रूपमा चिनिन्छ। संगठन सञ्चालन र व्यवस्थापनमा उनको बलियो पकड रहेको मानिन्छ। रवि कारागारमा रहेका बेला पार्टीको हस्ताक्षर अभियानको नेतृत्व गरेर उनले आफ्नो व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका थिए।
सञ्चारकर्मको पृष्ठभूमि र लामो सहकार्यका कारण उनी नेतृत्वको रोजाइमा पर्न सक्ने सम्भावना पनि छ।
हालका पार्टी प्रवक्ता मनिष झा सैद्धान्तिक बहस र सार्वजनिक प्रस्तुतिका लागि परिचित छन्। पार्टीका आधिकारिक धारणा स्पष्ट र प्रभावकारी रूपमा राख्ने क्षमताले उनलाई महामन्त्रीको सम्भावित प्रतिस्पर्धी बनाएको छ।
यदि महाधिवेशनले वैचारिक नेतृत्वलाई प्राथमिकता दियो भने झाको सम्भावना बलियो देखिन्छ।
चितवन-१ बाट दुईपटक निर्वाचित सांसद हरि ढकाल संगठनभित्र राम्रो पकड भएका नेतामध्ये गनिन्छन्। जनाधार, संगठन निर्माणको अनुभव र संसदीय सक्रियताले उनलाई महामन्त्रीको दौडमा राखेको छ।
यदि नेतृत्वले सहमतिको बाटो रोज्यो भने भूपदेव शाह सर्वसम्मत हुन सक्ने सम्भावना रहन्छ। तर प्रतिस्पर्धात्मक निर्वाचन भएमा कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, दीपक बोहोरा, मनिष झा र हरि ढकालजस्ता नेताबीच रोचक भिडन्त देखिन सक्छ।
यस अर्थमा रास्वपाको पहिलो महाधिवेशनमा सभापतिभन्दा बढी चासो महामन्त्री पदको प्रतिस्पर्धामा केन्द्रित हुने संकेत देखिएको छ।
