`

रास्वपा महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी

Nepal One HD ७ असार २०८३ ११:४७
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ।

महाधिवेशनमा सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत छनोट भएका प्रतिनिधिहरू सहभागी हुनेछन्।

पार्टी सचिवालयअन्तर्गत सङ्गठन विभागका अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, पार्टी विधानअनुसार सभापतिबाट १३८ जना मनोनयन गरिएको छ भने समूहगत रूपमा पार्टी प्रवेश गरेका व्यक्तिमध्ये १९२ जनालाई प्रतिनिधिका रूपमा चयन गरिएको छ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा बढी ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यसपछि मधेस प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ र कर्णाली प्रदेशबाट ३४३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिको संरचनाअनुसार पालिका सभापति, क्षेत्रीय सभापति, क्षेत्रीय उपसभापति तथा जिल्ला सभापतिसहित पाँच जनासम्म प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साथै प्रदेश समितिका सम्पूर्ण सदस्य, प्रदेशस्तरीय विभागका पदाधिकारी, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि स्वतः प्रतिनिधि बनेका छन्।

त्यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११-११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट समेत ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

स्थानीय तहको प्रतिनिधित्वलाई पनि महत्त्व दिइएको छ। प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि चयन गरिएका छन्। साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेर पराजित भएका व्यक्तिहरू, समानुपातिक सूचीमा रहेका व्यक्तिहरू तथा पार्टी गतिविधिमा सक्रिय सदस्यहरूलाई पनि प्रतिनिधिको जिम्मेवारी दिइएको छ।

यस्तै, केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *