`

पूर्वएसएसपी जीवनकुमार श्रेष्ठले घाेषणा गरे केन्द्रीय सदस्यमा उम्मेदवारी

Nepal One HD ७ असार २०८३ १३:३०
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले गण्डकीकाे भूगाेलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा गरेका छन् ।

३० वर्षसम्म नेपाल प्रहरीमा इमानदारी, अनुशासन र समर्पणका साथ सेवा गरी एसएसपी) पदबाट अवकाश प्राप्त उनी हाल रास्वपाको केन्द्रीय उत्पादन प्रवर्द्धन विभागका सदस्यका रूपमा सक्रिय छन्।

उनले उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले सार्वजनिक सेवामा हासिल गरेको अनुभव, नेतृत्व क्षमता र जवाफदेहिताको संस्कारलाई पार्टी संगठन सुदृढीकरण, नीति निर्माण तथा परिणाममुखी कार्यसम्पादनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुशासन, पारदर्शिता, जवाफदेहिता र संगठन सुदृढीकरणलाई उनले मुख्य एजेन्डा बनाएका छन् । साथै उत्पादन, उद्यमशीलता र समृद्धिको अभियानलाई पार्टीभित्र तथा समाजमा थप प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।

‘अनुभव बोल्छ, परिणाम देखिन्छ, सबल संगठनका लागि सक्षम नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठले अनुभव र युवा ऊर्जाबीच सन्तुलन कायम गर्दै बलियो संगठन निर्माणमा योगदान दिने दाबी गरेका छन्।

उनले पार्टीलाई अझ सक्षम, पारदर्शी र जनविश्वासयुक्त बनाउने यात्रामा आफ्नो अनुभव र प्रतिबद्धताको मूल्याङ्कन गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत तथा समर्थनको अपिल गरेका छन्।

श्रेष्ठले भनेका छन्, ‘सार्वजनिक सेवामा आर्जन गरेको अनुभवलाई पार्टी र राष्ट्र निर्माणमा समर्पित गर्ने उद्देश्यका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ। आदरणीय प्रतिनिधि साथीहरूको अमूल्य मत र समर्थनको हार्दिक अपेक्षा गर्दछु।’
रास्वपाकाे महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापनाकाे चार वर्षमा हुन लागेकाे महाधिवेशनले पार्टी नेतृत्वसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरु चुन्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *