बालेन पक्षलाई यसरी रिझाउँदैछ रास्वपा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनपछि गठन हुने नयाँ नेतृत्वमा विभिन्न राजनीतिक तथा सामाजिक समूहबाट समायोजन भएर आएका नेता–कार्यकर्तालाई चुनावी प्रतिस्पर्धा बाहिरैबाट केन्द्रीय समितिमा समेट्ने तयारी गरेको छ।
वरिष्ठ नेता वालेन्द्र शाह(बालेन) पक्षलाई पार्टी प्रवेश गरेको छोटो समयमै आन्तरिक निर्वाचन प्रक्रियामा उत्रिन कठिन हुने निष्कर्षसहित सभापतिको मनोनयनमार्फत केन्द्रीय सदस्य बनाउने रणनीति अघि सारिएको हो।
आगामी आमनिर्वाचन अघि बालेन समूह, विवेकशील साझा, खगेन्द्र सुनुवार समूह, थरुहट लगायत विभिन्न राजनीतिक धारबाट धेरै नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए। उनीहरूमध्ये केहीले सरकार तथा संसदमा समेत प्रतिनिधित्व गरिरहेका छन्।
तर, पार्टी संगठनमा सक्रिय रहेर पनि अवसर नपाएका कार्यकर्तालाई केन्द्रीय संरचनामा समेट्ने तयारी गरिएको हो।
यसै उद्देश्यका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय बनाइएको जनाइएको छ। हालै बसेको केन्द्रीय समिति बैठकमा सभापतिले समायोजन भएर आएका नेता–कार्यकर्तालाई अन्याय नहुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकमा उनले भनेका भने, ‘तपाईंहरूको अवस्था मलाई राम्रोसँग थाहा छ। तपाईंहरूले सक्रिय रूपमा पार्टीका लागि काम गरिरहनुभएको छ। तर भर्खरै संगठनमा आएर चुनावी प्रतिस्पर्धा गर्न सहज हुँदैन। यसलाई पार्टीले सम्बोधन गर्नेछ।’
स्रोतका अनुसार सभापतिले पार्टीमा प्रवेश गरे पनि हालसम्म कुनै लाभको पद नपाएका समायोजन समूहका नेताहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकतामा राख्ने तयारी गरिएको छ।
