सहमति नजुटेपछि २२ उम्मेदवार मैदानमा
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि पदाधिकारी निर्वाचन मतदानबाटै टुंग्याउने निर्णय गरिएको हो।
पार्टी सभापति रवि लामिछानेले अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास गरे पनि उम्मेदवारहरूले प्रतिस्पर्धाबाट पछि नहट्ने अडान लिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतदानस्थलमा विद्युतीय मेसिनमार्फत प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
निर्वाचनबाट एक महिला उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयन गरिनेछ। यी पाँच पदका लागि कुल २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
महिला उपसभापति पदमा सोविता गौतम र डा. तोषिमा कार्की आमनेसामने छन्। महामन्त्री पदका लागि विपिन आचार्य, मनीष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका अन्य ६ जनाले आफ्नो नाम फिर्ता लिएका थिए।
त्यस्तै, दुई सहमहामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा हुँदैछ।
महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यसअघि महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। रास्वपाको विधानअनुसार केन्द्रीय सदस्य निर्वाचित भएकामध्येबाट मात्रै पदाधिकारी चयन हुने व्यवस्था छ। पदाधिकारी निर्वाचन सम्पन्न भएसँगै पार्टीले नयाँ केन्द्रीय नेतृत्वलाई पूर्णता दिनेछ।
