`

गुटबन्दी गर्नेलाई कारबाही गर्न रवि गुहार्दै मनिष झा

Nepal One HD १२ असार २०८३ १५:३२
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास गर्ने नेतामाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

पदाधिकारी निर्वाचनका लागि मतदान सुरु हुनुअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उम्मेदवारी फिर्ता गरी एक उम्मेदवारको पक्षमा खुलेर समर्थन जुटाउने गतिविधिले पार्टीभित्र गलत सन्देश गएको टिप्पणी गरे।

महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपाने, जगदीश खरेललगायतले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन्। यसबारे टिप्पणी गर्दै झाले उनीहरूले व्यक्तिगत लाभका लागि मात्रै उम्मेदवारी दिएको आरोप लगाए।

‘मैले अरूजस्तो दुई–चार घण्टाका लागि मात्र उम्मेदवारी दिएको होइन,’ उनले भने, ‘मैले छ दिनअघि नै महामन्त्रीमा दाबी प्रस्तुत गरेको हुँ। आफ्नो अडानमा अहिले पनि दृढ छु, उहाँहरूजस्तो कुनै सम्झौता गर्दिनँ।’

‘तपाईंलाई एक्लो पार्ने प्रयास भएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा झाले पार्टी नेतृत्वलाई गुटगत गतिविधिप्रति कडा कदम चाल्न आग्रह गरे। ‘म सभापतिज्यूलाई आग्रह गर्न चाहन्छु, गुटबन्दी गर्ने प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुस्,’ उनले भने।

महामन्त्री पदका लागि प्रारम्भमा नौ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि अब मनिष झा, विपिन आचार्य, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *