`

दाउरा निकाल्ने क्रममा बागमती नदीमा डुबेर रौतहटमा दुई बालकको मृत्यु

Nepal One HD १४ असार २०८३ १८:४२
राजनीति

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका वडा नम्बर १ हरैया घाट स्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा सोही स्थानमा बस्ने वर्ष ८ का आदित्य यादव र वर्ष ८ कै अनिकेस यादव रहेका छन् । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए ।

बालकहरू नदीमा डुबेर बेपत्ता भएको खबर स्थानीयवासीले गरेलगत्तै उद्धार र खोजतलासका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो ।

नदीको विभिन्न सम्भावित स्थानहरूमा व्यापक खोततलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका हुन् । संयुक्त टोलीले दिउँसो ३ः०५ बजे अनिकेस यादव र त्यसको केही समयपछि ३ः५० बजे आदित्य यादवको शव नदीबाट बाहिर निकालेको थियो ।एकै गाउँका दुई अबोध बालकको नदीमा डुबेर असामयिक निधन भएपछि हरैया क्षेत्र र आसपासका स्थानीयवासी शोकमा डुबेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *