`

मूल्य घटेपछि भोलिपल्टै किन बन्द भए पेट्रोल पम्प?

Nepal One HD १७ असार २०८३ १३:४२
अर्थ समाचार

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले बिक्री बन्द गरेपछि इन्धन आपूर्तिलाई लिएर अन्योल सिर्जना भएको छ।

निगमले भने बजारमा इन्धनको अभाव नभई केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको जनाएको छ।

बुधबार बिहानदेखि काठमाडौं उपत्यकाका धेरै निजी पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री वितरण रोकेका छन्। सञ्चालनमा रहेका नेपाल प्रहरीको पेट्रोल पम्प तथा केही सरकारी र निजी पम्पमा भने इन्धन भर्न सवारीसाधनको लामो लाइन लागेको छ। बानेश्वर आसपासका अधिकांश पम्प बन्द देखिएका छन् भने उपत्यकाबाहिरका केही जिल्लामा पनि यस्तै अवस्था देखिएको छ।

नेपाल आयल निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। मूल्य समायोजन भएको केही घण्टामै बजारमा इन्धन अभाव देखिएपछि उपभोक्तामा थप अन्योल बढेको हो।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने बजारमा इन्धनको कुनै वास्तविक अभाव नरहेको स्पष्ट पारे। उनका अनुसार मूल्य घट्ने जानकारी पाएपछि केही पेट्रोल पम्प सञ्चालकले पुरानै महँगो मूल्यमा खरिद गरेको इन्धन बिक्री गर्न नचाहँदा नयाँ इन्धन लोड नगरी कृत्रिम अभाव सिर्जना गरेका हुन्।

उनले पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले आपूर्तिमा समस्या नरहेको बताए। निगमले सहज रूपमा इन्धन उपलब्ध हुँदाहुँदै पनि लोड नगरी ‘इन्धन छैन’ भन्दै पम्प बन्द गर्ने व्यवसायीमाथि अनुगमन सुरु गरिएको र दोषी भेटिए कारबाही गरिने जनाएको छ।

प्रवक्ता ठाकुरका अनुसार केही पम्पको भण्डारण क्षमता सीमित भएकाले कतै-कतै आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको निगमको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *