`

अर्थतन्त्र तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले बढ्यो

Nepal One HD २२ असार २०८३ १३:५३
अर्थ समाचार

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वृद्धि दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।

कार्यालयका अनुसार आधारभूत मूल्यमा गणना गरिएको त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको हो। विद्युत् उत्पादन तथा वितरण, वित्तीय सेवा, निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बीमा, व्यापार तथा सेवा क्षेत्रको विस्तारले आर्थिक गतिविधिमा सुधार ल्याउँदै समग्र वृद्धिलाई टेवा दिएको कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार वर्गीकृत १८ औद्योगिक क्षेत्रमध्ये १६ क्षेत्रमा मूल्य अभिवृद्धि सकारात्मक रहेको छ। सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन क्षेत्रमा भने नकारात्मक वृद्धि देखिएको छ।

कार्यालयका अनुसार तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात घट्नु, धान उत्पादनमा कमी आउनु तथा केही वस्तुको घरेलु उत्पादन कमजोर रहनुले समग्र आर्थिक वृद्धिलाई अपेक्षाअनुसार तीव्र हुन नदिएको हो।

औद्योगिक वर्गीकरणअनुसार सबैभन्दा उल्लेखनीय वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा भएको छ। यस क्षेत्रको वृद्धिदर २४.८८ प्रतिशत पुगेको छ।

यसपछि वित्तीय तथा बीमासम्बन्धी गतिविधिमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, समग्र आर्थिक संरचनामा यसको योगदान अघिल्लो अवधिको तुलनामा ०.०४ प्रतिशतले घटेको देखिएको कार्यालयले जनाएको छ।

अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र २.०२ प्रतिशतले विस्तार भएको छ।

तेस्रो त्रैमासमा आवास तथा भोजन सेवा, बैंक तथा बीमा तथा औद्योगिक उत्पादन क्षेत्रमा क्रमशः २.३० प्रतिशत, १.०७ प्रतिशत र ०.८३ प्रतिशतले नकारात्मक वृद्धि देखिएको छ। अन्य अधिकांश औद्योगिक क्षेत्रको वृद्धि भने सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्रको अनुमानित आकार ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो। तेस्रो त्रैमासमा यो बढेर ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

कार्यालयका अनुसार दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा समग्र आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत देखिएको छ।

विद्युत् उत्पादन, वित्तीय सेवा र व्यापार क्षेत्रमा सुधार देखिए पनि कृषि तथा औद्योगिक उत्पादनमा अपेक्षित गति आउन नसक्दा आर्थिक वृद्धिदर मध्यम स्तरमै सीमित भएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *