`

इन्जुरी समयमा एञ्जो फर्नान्डेजको निर्णायक गोल, अर्जेन्टिना ३–२ ले अगाडि

Nepal One HD २३ असार २०८३ २३:४५
खेलकुद

काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को नकआउट चरणमा मंगलबार राति भइरहेको इजिप्टविरुद्धको खेलमा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै ३–२ को अग्रता बनाएको छ। दुई गोलले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्ने अवस्थामा पुगेको हो।

खेलको ८०औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनाको पुनरागमनको सुरुआत गरेका थिए। त्यसको तीन मिनेटपछि कप्तान तथा स्टार खेलाडी लियोनेल मेसीले उत्कृष्ट गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। मेसीको गोलले अर्जेन्टिनालाई नयाँ ऊर्जा दिएको थियो।

निर्धारित समय सकिएपछि थप गरिएको इन्जुरी समयको तेस्रो मिनेट अर्थात् ९३औँ मिनेटमा एञ्जो फर्नान्डेजले शानदार गोल गर्दै अर्जेन्टिनालाई पहिलो पटक अग्रता दिलाए। उक्त गोलसँगै अर्जेन्टिनाले खेलमा ३–२ को रोमाञ्चक अग्रता बनाएको छ।

यसअघि इजिप्टले खेलको १४औँ मिनेटमा यासिर अब्राहिम र ५८औँ मिनेटमा मोस्ताफा जिकोको गोलमार्फत २–० को अग्रता बनाएको थियो। तर, अन्तिम १३ मिनेटमा अर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेलको नतिजा नै उल्ट्याएको छ।

खेलको अन्तिम क्षणमा इजिप्ट बराबरी गोलको खोजीमा आक्रामक रूपमा अघि बढिरहेको छ भने अर्जेन्टिना अग्रता जोगाउँदै क्वार्टरफाइनल प्रवेश सुनिश्चित गर्ने लक्ष्यमा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *