२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीको दाह्रा काटिँदै
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानव क्षति गराएको जङ्गली हात्ती ‘ध्रुवे’लाई पुनः नियन्त्रणमा लिएर यसको दाह्रा छोट्याउने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको छ।
हालसम्म २५ जनाको ज्यान लिइसकेको यो हात्तीले गत शनिबार भरतपुर महानगरपालिका–२३ मा एकै परिवारका आमा–छोराको ज्यान लिएपछि निकुञ्जले विशेष निगरानी र नियन्त्रण अभियान सुरु गरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई भेट्नासाथ डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिइनेछ। त्यसपछि यसको दाह्रा काटेर छोटो बनाइने र नयाँ रेडियो कलर जडान गरिनेछ।
उनले भने, ‘हामी तयारी अवस्थामा छौँ। भेटिनासाथ डार्ट गर्छौँ। त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ।’
ध्रुवेको दाह्रा यसअघि पनि दुई वर्षअघि छोट्याइएको थियो। तर अहिले फेरि दाह्रा बढेकाले जोखिम कम गर्न पुनः काट्ने निर्णय गरिएको हो। साथै, पुरानो रेडियो कलर प्रभावकारी रूपमा सूचना दिन नसकेपछि नयाँ प्रविधिको उपकरण जडान गर्न लागिएको निकुञ्जले जनाएको छ।
नयाँ रेडियो कलर जडान भएपछि हात्ती बस्तीतर्फ प्रवेश गर्न थालेको सूचना समयमै प्राप्त हुने र स्थानीयवासीलाई तत्काल सचेत गराउन सहज हुने अपेक्षा गरिएको छ।
गत शनिबार राति ध्रुवेले भरतपुर–२३ निवासी २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरी हत्या गरेको थियो।
घटनाका बेला आशिकाका श्रीमान्ले हात्ती धपाउन आगो बाल्ने प्रयास गर्दा आगो फैलिएको र उनीहरूको घरसमेत जलेर नष्ट भएको थियो।
घटनापछि ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो। त्यसयता निकुञ्जको टोलीले यसको निरन्तर अनुगमन गरिरहेको छ।
सोमबार साँझ ध्रुवे मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्र हुँदै बस्तीमा पसेर दुई घरमा राखिएको अन्न खाएको निकुञ्जले जनाएको छ। यस घटनाले स्थानीयमा पुनः त्रास फैलिएको छ।
२५ जनाको ज्यान लिएको कुख्यात हात्ती
निकुञ्जका अनुसार ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। यसअघि २०७४ सालमा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरी मारेपछि लामो समय शान्त देखिएको यो हात्तीले करिब नौ वर्षपछि पुनः दुई जनाको ज्यान लिएको हो।
ध्रुवेले २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको थियो। विशेषगरी २०६८–६९ सालतिर यसले लगातार मानवहत्या गर्न थालेपछि स्थानीयमा ठूलो त्रास फैलिएको थियो। २०६९ सालको कात्तिकमा मात्रै माडी क्षेत्रमा एक महिनाभित्र चार जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले यसलाई मार्ने निर्णयसमेत गरेको थियो।
त्यसबेलासम्म ध्रुवेले १५ जनाको ज्यान लिइसकेको थियो। पछि भने संरक्षण तथा व्यवस्थापनको उपाय अपनाउँदै यसलाई रेडियो कलर लगाउने, दाह्रा काट्ने र निगरानी बढाउने रणनीति अवलम्बन गरिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले ४५ देखि ५० वटा जङ्गली हात्ती रहेको अनुमान छ। तीमध्ये रोनाल्डो, गोविन्दे र ध्रुवे सबैभन्दा परिचित भाले हात्ती हुन्।
प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार अन्य जङ्गली हात्तीले मानव बस्तीमा उल्लेख्य समस्या सिर्जना नगरे पनि ध्रुवे भने अत्यधिक आक्रामक व्यवहारका कारण विशेष निगरानीमा राखिएको छ।
ध्रुवेको आक्रमणपछि जलेर नष्ट भएको घर पुनर्निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायहरूले संयुक्त रूपमा सहयोग गर्ने तयारी गरेका छन्।
निकुञ्जले ध्रुवेमाथि निगरानी अझ कडा बनाउँदै स्थानीय बासिन्दालाई समयमै सूचना प्रवाह गरी मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने योजना अघि बढाएको जनाएको छ।
