प्रधानमन्त्रीलाई संसद्प्रति जिम्मेवार बनाउन रास्वपालाई नेकपाको आग्रह
काठमाडौं। नेकपाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नै संसदीय दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउन आग्रह गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद परशुराम तामाङले संसदीय दलको नेतालाई संसद्प्रति जिम्मेवार बनाउने दायित्व रास्वपाकै भएको बताए।
‘हामी रास्वपाले त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गरेको देख्न चाहन्छौँ। जसले उहाँलाई यो संसद्को दलको नेता बनायो र प्रधानमन्त्री बनायो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने समय आएको छ,’ उनले भने।
सांसद तामाङले संसद्को गरिमा र मर्यादा जोगाउने जिम्मेवारी सभामुखको पनि रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जवाफ दिन निर्देशन (रुलिङ) गर्न सभामुखसँग माग गरे।
उनले संसद्प्रति कार्यपालिकाको जवाफदेहिता सुनिश्चित गर्न आवश्यक कदम चाल्न सभामुखलाई आग्रह गर्दै लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरे।
