`

प्रधानमन्त्री बालेनले निजी क्षेत्रका प्रतिनिधिलाई के भने?

Nepal One HD २४ असार २०८३ १५:३१
राजनीति

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा रोजगारी र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रधानमन्त्री शाहले निजी क्षेत्रको मनोबल उच्च बनाउँदै लगानीको वातावरण सुधार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच नियमित संवाद र सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए।

छलफलमा सहभागी उद्योगी–व्यवसायीहरूले उद्योग प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई सरल बनाउने व्यवस्था तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औँल्याएका थिए। उनीहरूले व्यवसाय सञ्चालनमा रहेका नीतिगत तथा प्रक्रियागत जटिलता हटाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले दिएका सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने बताए। आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *