`

संसद बैठक बिहिबारसम्मका लागि स्थगित

Nepal One HD २४ असार २०८३ १६:१८
समाचार

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रिय सभाको बैठकमा व्यस्त भएपछि सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

यसअघि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर, विशेष कारणवश निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने भएपछि सभामुखको निर्देशनमा बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको उल्लेख गरिएको छ।

बुधबारको बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ तथा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको थियो।

यस्तै, प्रधानमन्त्री शाहकै तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक सभामा पेस गर्ने कार्यसूची पनि तय गरिएको थियो।

संसद् सचिवालयका अनुसार कानुनमन्त्री गौतम राष्ट्रिय सभामा विचाराधीन प्रतिस्थापन विधेयकमाथिको छलफलमा सहभागी भएकाले प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सञ्चालन हुन सकेन। अब प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *