आज प्रधानमन्त्री बालेनको विशेष छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग निर्माण क्षेत्रमा देखिएका समस्या र तिनको समाधानका उपायबारे छलफल गर्ने भएका छन्।
निजी क्षेत्रका शीर्ष नेतृत्वसँगको छलफलपछि प्रधानमन्त्री साहले निर्माण व्यवसायीसँग संवाद गर्न लागेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा निर्माण क्षेत्रका दीर्घकालीन चुनौती, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या तथा सरकारबाट आवश्यक नीतिगत सहजीकरणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेलगायतको सहभागिता रहनेछ।
प्रधानमन्त्री साहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई थप प्रभावकारी, समन्वयात्मक र नतिजामुखी बनाउने उद्देश्यमा केन्द्रित हुनेछ।
छलफलमा निर्माण व्यवसायीले लामो समयदेखि उठाउँदै आएका सार्वजनिक खरिद सम्झौताको म्याद थप, सम्पन्न आयोजनाको भुक्तानीमा भइरहेको ढिलाइ, सार्वजनिक खरिद नियमावलीका जटिल प्रावधान तथा निर्माण क्षेत्रको समग्र सुधारसँग सम्बन्धित विषयमा समेत केन्द्रित भएर छलफल हुने अपेक्षा गरिएको छ। यी विषयमा सकारात्मक निष्कर्षसहित व्यवहारिक समाधान खोज्ने सरकारको तयारी रहेको बताइएको छ।
