राष्ट्र बैंकले १५ अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु. १५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–६’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार ऋणपत्र अनलाइन बोलकबोल (अक्सन) प्रणालीमार्फत निष्कासन गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्।
यस ऋणपत्रको ब्याजदर पूर्वनिर्धारित हुने छैन। बोलकबोल प्रक्रियाबाट प्रस्तावित ब्याजदरका आधारमा अन्तिम दर तय गरी ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
जारी गरिने ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार २९ गते एकमुष्ट फिर्ता गरिनेछ भने ब्याज भने प्रत्येक छ–छ महिनामा अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम रु. ५ करोडका लागि आवेदन दिनुपर्नेछ। त्यसपछि थप आवेदन पनि रु. ५ करोडकै गुणकमा गर्नुपर्नेछ। कुल आह्वान गरिएको रु. १५ अर्बको सीमाभित्र रहेर बोलकबोल गर्न सकिने व्यवस्था छ।
यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितो (कोलाटेरल) का रूपमा प्रयोग गर्न सकिनेछ। साथै, स्वीकृत ऋणपत्र सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा समावेश हुनेछ।
यद्यपि, यो ऋणपत्रलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न भने नमिल्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपात (नेट लिक्विड एसेट रेसियो) गणना गर्दा भने यसलाई समावेश गर्न सकिनेछ।
राष्ट्र बैंकले बोलकबोल प्रक्रियामा आफ्नो इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) लाई मात्र सहभागी हुन अनुमति दिएको छ।
बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न, मौद्रिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा वित्तीय प्रणालीमा सन्तुलन कायम राख्न राष्ट्र बैंकले समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।
