गृहमन्त्रीमाथि कांग्रेसको प्रहार : ‘एकपटक संविधान पढ्नुहोस्’
काठमाडौं। प्रतिनिधिसभामा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि नेपाली कांग्रेसले कडा प्रश्न उठाएको छ।
कांग्रेस सांसद मनमाया विकले गृहमन्त्रीले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुको सट्टा जिम्मेवारी स्थानीय र प्रदेश सरकारतर्फ पन्छाउन खोजेको आरोप लगाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विकले गृहमन्त्रीलाई संविधान, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुन र आफ्नो मन्त्रालयको जिम्मेवारी अध्ययन गर्न सुझाव दिइन्।
संघीय सरकारको नेतृत्वदायी भूमिका कमजोर देखिएको भन्दै उनले सरकारको तयारीमाथि प्रश्न उठाइन्।
‘गृहमन्त्रीज्यू संसद्मा आएर ‘तीन तहको सरकार कहाँ छ ?’ भनेर प्रश्न गर्नुहुन्छ,’ उनले भनिन्, ‘जिम्मेवारीबाट पन्छिने होइन, एकपटक संविधान, विपद् न्यूनीकरणसम्बन्धी कानुन र आफ्नो दायित्व राम्रोसँग पढ्नुस्।’
सांसद विकले विपद् व्यवस्थापनमा संघीय सरकारको भूमिका समन्वयकारी र नेतृत्वदायी हुने उल्लेख गर्दै प्राकृतिक विपद् आउनुअघि गरिनुपर्ने तयारीको अवस्थाबारे पनि सरकारसँग जवाफ मागिन्।
‘विपद् न्यूनीकरणको पूर्वतयारी कहाँ पुग्यो ? जोखिम न्यूनीकरणका लागि सरकारले के काम गरिरहेको छ ?’ उनले प्रश्न गरिन्।
उनले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर विपद् व्यवस्थापनको नेतृत्व गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै जिम्मेवारी अरू तहका सरकारमाथि थोपर्न खोज्नु उचित नहुने बताइन्।
सांसद विकको टिप्पणी गृहमन्त्री सुधन गुरुङले शुक्रबार तिनिधिसभामा मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको प्रसंग उठाउँदै ‘स्थानीय र प्रदेश सरकार कसको छ ?’ भन्ने प्रश्न गरेपछि आएको हो।
कांग्रेसले त्यस अभिव्यक्तिलाई संघीय सरकारको दायित्वबाट पन्छिने प्रयासका रूपमा व्याख्या गर्दै संसद्मा कडा आपत्ति जनाएको छ।
