`

सरकारले सरुवा गरेका ६ सचिव को कहाँ पुगे?

Nepal One HD ३१ असार २०८३ १४:५४
प्रमुख खबर

काठमाडौं। सरकारले विभिन्न मन्त्रालय तथा निकायका ६ जना सचिवको एकैपटक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गर्दै विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। राउत तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरुवा भएका थिए।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा सरुवा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा गरिएको छ।

सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *