प्रचण्ड किन हानिए श्रीलंका ?
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकामा हुने एसियाली वामपन्थी तथा प्रगतिशील शक्तिहरूको क्षेत्रीय सम्मेलनमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।
कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल पिपुल्स एसेम्बलीको आयोजनामा हुने सम्मेलन जुलाई १६ देखि १८ सम्म श्रीलंकाको राजधानी कोलम्बोमा सञ्चालन हुनेछ। सम्मेलनमा एसियाका विभिन्न मुलुकका कम्युनिस्ट, समाजवादी तथा वामपन्थी राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने आयोजकले जनाएको छ।
प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल पनि सहभागी रहेका छन्।
तीनदिने सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, बढ्दो सैन्यीकरण, एसियामा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व र समाजवाद निर्माणका लागि एसियाली मुलुकबीचको सहकार्यजस्ता विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।
सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसियालगायत मुलुकका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।
श्रीलंका भ्रमणका क्रममा प्रचण्डले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवलगायत विभिन्न देशका राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको छ।
भेटवार्तामा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिबीचको सम्बन्ध विस्तार तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
