एलपी ग्यासमा कालोबजारी र कृत्रिम अभाव रोक्न संसदीय समितिको निर्देशन
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा देखिने कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थापनका समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारलाई आग्रह गरेको हो।
समितिका सभापति रहबर अन्सारीले एलपी ग्यासको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि पाइपमार्फत ग्यास वितरण प्रणाली विस्तार गर्न सकिने सम्भावनाबारे अध्ययन तथा अनुसन्धान गरी त्यसको प्रभावसहितको प्रतिवेदन सात दिनभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएका छन्।
बैठकले पुराना एलपी ग्यास सिलिन्डरको प्रयोगबाट उपभोक्तामा हुन सक्ने जोखिमप्रति पनि चासो व्यक्त गरेको छ। समितिले नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग तथा सम्बन्धित मन्त्रालयलाई सिलिन्डरको नियमित अनुगमन, गुणस्तर परीक्षण र सुरक्षाको सुनिश्चितता गर्न निर्देशन दिएको छ।
समितिले उपभोक्ताको सुरक्षा र ग्यास आपूर्तिलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउन तथा बजारमा देखिने अनियमितता नियन्त्रणका लागि नियमित अनुगमनलाई थप प्रभावकारी बनाउन पनि जोड दिएको छ।
