बल्ल उकालो लाग्यो नेप्से
काठमाडौं। लगातार दोस्रो दिन नेपाली शेयर बजारमा हरियाली देखिएको छ। मंगलबार सामान्य अंकले बढेको नेप्से सूचक बुधबार थप १४ अंकले उकालो लागेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सूचक १४ अंकले बढेर २ हजार ५९० अंकमा पुगेको छ। बजार सूचक सकारात्मक रहे पनि लगानीकर्ताको कारोबार उत्साह भने कमजोर देखिएको छ।
अघिल्लो कारोबार दिन ६ अंकले बढेको बजारमा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो। तर बुधबार नेप्से बढ्दा पनि कारोबार रकम घटेर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।
आजको कारोबारमा अधिकांश समूहका उपसूचक सकारात्मक देखिएका छन्। लगानी समूह (इन्भेष्टमेन्ट)को उपसूचक भने ऋणात्मक बनेको छ भने बाँकी १२ वटा उपसूचकले वृद्धि कायम गरेका छन्।
बुधबार कुल १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ। सूचक बढे पनि कारोबार रकममा आएको गिरावटले बजारमा लगानीकर्ताको सक्रियता अझै अपेक्षाकृत बलियो बन्न नसकेको संकेत गरेको छ।
