`

रसुवागढी नाकाबाट ६,५०० बढी ईभी भित्रिए, १५ अर्ब राजस्व

Nepal One HD ३२ असार २०८३ ११:२६
अर्थ समाचार

काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) आयात उल्लेख्य रूपमा बढेको छ। नेपाली बजारमा ईभीको माग तीव्र बनेसँगै यस नाकाबाट हुने आयात र त्यसबापत उठ्ने राजश्व दुवैमा उल्लेखनीय वृद्धि भएको हो।

रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी नेपाल भित्रिएका छन्। आयात भएका सवारीमा विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस प्रमुख छन्। यी सवारी चीनका विभिन्न सहरबाट केरुङ हुँदै नेपाल ल्याइएका हुन्।

ईभी आयात बढेसँगै रसुवा भन्सारको राजश्व संकलन पनि ऐतिहासिक रूपमा बढेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा विद्युतीय सवारीको जाँचपास तथा भन्सार महसुलबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व उठेको छ। कुल राजश्व संकलनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा ईभीबाट प्राप्त भएको जनाइएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा केही परिमार्जन गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षण घटेन। BYD, Deepal, GWM, Seres र Zeekr लगायतका ब्रान्ड नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। इन्धनबाट चल्ने सवारीको तुलनामा सञ्चालन खर्च कम, वातावरणमैत्री प्रविधि र आधुनिक सुविधाका कारण उपभोक्ताको रोजाइ ईभीतर्फ बढेको हो।

भन्सार अधिकारीहरूका अनुसार पछिल्लो समय रसुवागढी नाका विद्युतीय सवारी आयातको मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। दैनिक रूपमा आउने अधिकांश मालवाहक ट्रकमा ईभी नै रहने गरेका छन्। चिनियाँ पक्षको सडक पूर्वाधार सुधार, प्रविधिमैत्री जाँचपास प्रणाली र भन्सार प्रक्रियामा सहजताले आयात बढाउन सहयोग पुगेको उनीहरूको भनाइ छ।

यद्यपि, गत आर्थिक वर्ष ईभी आयातसँगै प्रशासनिक विवाद पनि चर्चामा रह्यो। बजेट घोषणाअघि केही व्यापारी र भन्सार कर्मचारीको मिलेमतोमा नाकामा आइपुग्न बाँकी करिब २०० ईभीको नियमविपरीत पूर्व–जाँचपास गराउन खोजिएको कैफियत भेटिएको थियो। त्यसपछि अर्थ मन्त्रालय र भन्सार विभागको निर्देशनमा तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ जना कर्मचारी निलम्बन भई विभागीय कारबाही अघि बढाइएको थियो।

त्यसयता नयाँ नेतृत्वमार्फत जाँचपास प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ।

तस्वीरहरू:

 

Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *