भिषण वर्षा : असमका ९९ गाउँ डुबानमा
एजेन्सी। भारतका विभिन्न राज्यमा लगातारको भारी वर्षापछि बाढी र पहिरोको प्रकोप बढ्दै गएको छ।
उत्तर प्रदेश, बिहार, अरुणाचल प्रदेश, असम र ओडिशासहितका राज्यमा जनजीवन प्रभावित भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। पूर्वी नेपालमा पनि निरन्तर वर्षा भइरहेकाले सीमावर्ती क्षेत्रमा बाढीको जोखिम बढेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका १० र बिहारका ८ जिल्लामा मुसलधारे वर्षा भइरहेको छ। उत्तर प्रदेशका हरदोई, लखनऊ, रायबरेली, सीतापुर, उन्नावलगायत ३६ जिल्लामा भारी वर्षाको चेतावनी (अलर्ट) जारी गरिएको छ। निरन्तर वर्षाका कारण नदीको जलस्तर बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशमा पछिल्लो २४ घण्टाभित्र बाढी, पहिरो र अविरल वर्षाले ठूलो क्षति पुर्याएको छ। त्यहाँ १ लाख २ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २९ जना घाइते भएका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भइरहेको बताइएको छ।
यस्तै, असमका ६ जिल्लाका ९९ गाउँ बाढीले डुबानमा परेका छन्। सरकारी विवरणअनुसार ३७ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। नदीहरूमा पानीको सतह बढ्दै जाँदा थप क्षेत्र डुबानमा पर्न सक्ने भन्दै स्थानीय प्रशासनले निगरानी बढाएको छ।
ओडिशाको पुरी क्षेत्रमा पनि लगातार भारी वर्षा भइरहेको छ। मौसम विभागले आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतसँगै पूर्वी नेपालमा पनि अविरल वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। गएराति कोशी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको थियो।
पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। सम्बन्धित निकायले पूर्वी नेपालमा वर्षा निरन्तर जारी रहेमा नदीको बहाव अझ बढ्न सक्ने चेतावनी दिएका छन्।
नेपाल–भारत सीमावर्ती क्षेत्रका लागि महत्त्वपूर्ण संरचना मानिने कोशी ब्यारेजमा जलस्तर बढेपछि दुवै देशका नदी तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना रहेकाले नदी किनार र डुबान जोखिम भएका क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको बताएका छन्।
