`

महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

Nepal One HD ३२ असार २०८३ १२:१५
अर्थ समाचार

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले बिहिवार महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग उद्योग, उद्यमशीलता र महिलाको आर्थिक सशक्तीकरणका विषयमा विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा महिला उद्यमशीलता प्रवर्द्धन, उद्योग व्यवसाय सञ्चालनमा देखिएका चुनौती, नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने उपायबारे विस्तृत संवाद हुने जनाइएको छ।

महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, वित्तीय पहुँच, सीप विकास, बजार विस्तार, कर तथा नियामकीय सुधारलगायत विषयमा आफ्ना सुझाव सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्। साथै, महिला नेतृत्वको व्यवसायलाई प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सहजीकरणका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउने नीति लिँदै विभिन्न व्यवसायिक तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। सोही क्रममा महिला उद्यमीहरूसँगको यो भेटलाई पनि सरकार–निजी क्षेत्र सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

बैठकमा महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *