`

रविसँग बालेनकाे प्रस्ताव -अर्थमन्त्री, कानुनमन्त्री गाैतम र महान्यायाधिवक्ता कँडेललाई हटाइदिउँ

Nepal One HD ३२ असार २०८३ १८:१८
प्रमुख खबर

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई हटाउन चाहेका छन्। उनले यो कुरा सभापति रवि लामिछानेसँग गरेका छन्।

तर, सभापति रविले अस्वीकार गरेका छन्। अर्थमन्त्री वाग्ले, कानुनमन्त्री गौतम र महान्यायाधिवक्ता कँडेल रवि निकट हुन्। तर, यही २८ असारमा रवि निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री बालेनले तिनै जनालाई हटाउनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ।

अर्थमन्त्री वाग्लेले १५ जेठमा बजेट ल्याउनुअघि बीवाईडी गाडी भित्र्याउनका लागि करको दर हेरफेरको सूचना व्यापारीलाई चुहाएर सरकारको बदनामी गरेको, गलत मान्छेहरूलाई विभिन्न नियुक्ति दिएको र शेयर बजारमा सुधार पटक्कै नभएको भन्दै हटाउनुपर्ने तर्क गरेका थिए।

यस्तै, सरकारका अधिकांश निर्णय अदालतले उल्टाइदिएको र त्यसमा कानुनमन्त्रीका रूपमा सोविता गौतम र महान्यायाधिवक्ता कँडेलको भूमिका कमजोर देखिएको भन्दै प्रधानमन्त्री बालेन असन्तुष्ट छन्। बुधबार मात्रै सम्पत्ति छानबिनसम्बन्धी बालेन सरकारको कदम अघि नबढाउन सर्वोच्चले आदेश दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका थुप्रै नेता सर्वोच्चकै आदेशअनुसार रिहा भएको भन्दै प्रधानमन्त्री बालेन सोविता र कँडेलसँग रिसाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री बालेनको असन्तुष्टि सुनेपछि सभापति लामिछानेले पनि बालेनका प्रमुख स्वकीय सचिव कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई हटाउन सुझाएका थिए। पछिल्ला दिनहरूमा रवि र बालेनबीच मनमुटाव हुन थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *