`

निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै

Nepal One HD १० साउन २०८३ २१:२४
प्रमुख खबर

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन् ।

आठ वर्षअघि आजकै दिन (२०७५ साउन १०) निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारा नजिक पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए ।

“यो प्रकरणमा प्रहरी सङ्गठनले सघन रुपमा लामो समयदेखि अनुसन्धान गर्दैछ”, प्रवक्ता रावतले भने, “प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि गम्भीर चासोका साथ विभिन्न कोणबाट अनुसन्धान जारी छ ।”

हरेकजसो सरकार गठन हुँदा निर्मलाको न्यायका लागि आवाज उठाउँदै आएको प्रकरण पनि हो । निर्मला प्रकरणले उग्ररुप लिँदा महेन्द्रनगरमा आन्दोलनमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ भगतपुरका सन्नी खुनाले ज्यान गुमाएका थिए ।

सयौँ व्यक्ति अनुसन्धानको घेरामा ल्याएको प्रहरीभित्र पनि डिएनए परीक्षणदेखि सुरक्षाकर्मीसमेत अनुसन्धानमा तानिएका थिए ।

माथिल्लो तहबाट छानबिन समिति गठन हुनेदेखि राज्यले गम्भीर भएर घटनाको अनुसन्धान जारी राखेको भए पनि अभियुक्तको पहिचान गरी कानूनी दायरामा ल्याउन भने आठ वर्ष बित्दा समेत सकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *