एआई युद्धमा चीनको ‘गुप्त हतियार’
एजेन्सी। विश्वभर अहिले अमेरिका-चीनबीचको प्रविधि प्रतिस्पर्धा कृत्रिम बौद्धिकता (एआई) चिपको वरिपरि केन्द्रित देखिन्छ।
अमेरिकाले अत्याधुनिक एआई चिप चीनमा निर्यात गर्न कडा प्रतिबन्ध लगाएपछि अधिकांशको ध्यान एनभिडिया, एएमडी वा अन्य चिप निर्माता कम्पनीतर्फ गएको छ। तर, यही बहसको छायाँमा चीनले चालेको अर्को रणनीतिक कदमले विश्वको एआई, दूरसञ्चार र डेटा सेन्टर उद्योगलाई गम्भीर चुनौती दिएको विश्लेषण हुन थालेको छ।
यो रणनीति कुनै अत्याधुनिक चिपसँग सम्बन्धित छैन, बरु एउटा दुर्लभ धातु इन्डियमसँग जोडिएको छ। विश्व उत्पादनको करिब ७० प्रतिशत हिस्सा चीनको नियन्त्रणमा रहेको यो धातु अहिले एआई पूर्वाधारको सबैभन्दा संवेदनशील कडीका रूपमा उभिएको छ। विशेषज्ञहरूका अनुसार अत्याधुनिक चिप निर्माणभन्दा पनि ती हजारौँ चिपलाई एउटै प्रणालीका रूपमा जोडेर काम गराउने प्रविधिमा इन्डियम अपरिहार्य छ।
सामान्य उपभोक्ताका लागि इन्डियम अपरिचित नाम हुन सक्छ। तर यो धातु दैनिक प्रयोग हुने स्मार्टफोन, ट्याब्लेट, टचस्क्रिन, फाइबर अप्टिक नेटवर्क, स्याटेलाइट सञ्चारदेखि एआई डेटा सेन्टरसम्म अत्यावश्यक सामग्री हो।
विशेषगरी इन्डियम फोस्फाइडबाट बनाइने लेजर उपकरणहरू डेटा सेन्टरमा हजारौँ एआई चिपबीच उच्च गतिमा सूचना आदान–प्रदान गराउन प्रयोग गरिन्छ। एउटै ठूलो एआई मोडेललाई तालिम दिन हजारौँ ग्राफिक्स प्रोसेसरले एकसाथ काम गर्नुपर्छ। यदि ती चिपबीचको सञ्चार ढिलो भयो भने शक्तिशाली प्रोसेसर थप्दैमा प्रणालीको क्षमता बढ्दैन।
विश्लेषकहरूका अनुसार आधुनिक एआई प्रणालीको वास्तविक शक्ति केवल चिपको क्षमताले होइन, चिपहरूबीच हुने सञ्चारको गतिले निर्धारण गर्छ।
इन्डियमको सबैभन्दा ठूलो विशेषता भनेको यो पृथक रूपमा खानीबाट निकालिने धातु होइन। यो मुख्यतः जस्ता प्रशोधनका क्रममा सह–उत्पादनका रूपमा प्राप्त हुन्छ।
यसकारण इन्डियमको माग बढ्यो भन्दैमा उत्पादन तुरुन्तै बढाउन सम्भव हुँदैन। उत्पादन बढाउन जस्ता प्रशोधन उद्योग नै विस्तार गर्नुपर्ने हुन्छ, जुन प्रक्रिया निकै खर्चिलो र समय लाग्ने मानिन्छ।
विश्वको सबैभन्दा ठूलो जस्ता प्रशोधन क्षमता चीनसँग भएकाले इन्डियमको आपूर्ति पनि उसकै नियन्त्रणमा छ। यही कारणले छोटो अवधिमा अन्य देशले चीनको विकल्प तयार गर्न सक्ने अवस्था छैन।
चीनले सन् २०२५ को फेब्रुअरीदेखि इन्डियमको निर्यातमा कडाइ गरेपछि विश्व बजारमा यसको असर तत्काल देखिन थाल्यो।
१४ महिनाभित्र चीनबाट हुने इन्डियम निर्यात दुई–तिहाइले घट्यो भने अमेरिकातर्फ हुने आपूर्ति झन्डै ७७ प्रतिशत ले घटेको तथ्यांक सार्वजनिक भएको छ।
यसको प्रत्यक्ष असर मूल्यमा देखियो। इन्डियम फोस्फाइड वेफरको मूल्य करिब १,४०० अमेरिकी डलरबाट बढेर ५,००० अमेरिकी डलरसम्म पुगेको बताइन्छ।
कच्चा पदार्थ अभावका कारण अमेरिका र युरोपका धेरै प्रविधि कम्पनीहरूले उत्पादन योजना पुनरावलोकन गर्नुपरेको छ।
विश्वभर एआई पूर्वाधार विस्तार तीव्र गतिमा भइरहेको छ। माइक्रोसफ्ट, गुगल, मेटा, अमेजन, ओपनएआई लगायतका कम्पनीहरूले विशाल डेटा सेन्टर निर्माण गरिरहेका छन्।
तर डेटा सेन्टरमा हजारौँ एआई चिप राख्नु मात्र पर्याप्त हुँदैन। ती चिपबीच उच्च गतिको अप्टिकल सञ्चार प्रणाली आवश्यक हुन्छ, जसका लागि इन्डियम फोस्फाइडमा आधारित लेजर अनिवार्य मानिन्छ।
यदि यस्ता उपकरण पर्याप्त मात्रामा उपलब्ध भएनन् भने डेटा सेन्टरको वास्तविक क्षमता उपयोग हुन सक्दैन। परिणामस्वरूप महँगा एआई चिप प्रयोग गरे पनि अपेक्षित प्रदर्शन प्राप्त हुँदैन।
इन्डियम अभावको असर अमेरिकी अप्टिकल नेटवर्किङ कम्पनी लुमेन्टम जस्ता उत्पादकमा स्पष्ट देखिएको बताइन्छ। कम्पनीले उत्पादन क्षमता बढाए पनि आवश्यक कच्चा पदार्थ अभावका कारण मागअनुसार आपूर्ति गर्न कठिन भएको छ।
त्यस्तै विश्वकै अग्रणी एआई चिप निर्माता एनभिडिया ले समेत आफ्ना आपूर्तिकर्तालाई अरबौँ डलर लगानी गरेर उत्पादन विस्तार गर्न प्रोत्साहित गरिरहेको छ। तर नयाँ उत्पादन केन्द्र स्थापना, परीक्षण र व्यावसायिक उत्पादन सुरु हुन कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ।
यसबीच विश्वभर एआई पूर्वाधारको माग भने तीव्र गतिमा बढिरहेको छ।
विश्लेषणअनुसार एआई उद्योगको अर्को ठूलो समस्या ऊर्जा पूर्वाधार हो।
डेटा सेन्टर सञ्चालनका लागि विशाल परिमाणमा विद्युत् आवश्यक पर्छ। विद्युत् वितरणका लागि उच्च क्षमताका ट्रान्सफर्मर चाहिन्छ।
विश्व ट्रान्सफर्मर उत्पादन क्षमताको करिब ६० प्रतिशत चीनमै केन्द्रित छ। अमेरिकाले आफ्नै मागको करिब २० प्रतिशत मात्र उत्पादन गर्न सक्छ।
हाल ठूला विद्युत् ट्रान्सफर्मरको आपूर्ति पाउन चार वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको बताइन्छ, जबकि नयाँ डेटा सेन्टर परियोजना करिब १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिन्छ।
यसले चिप उपलब्ध भए पनि आवश्यक विद्युत् पूर्वाधार समयमै तयार नहुने जोखिम बढाएको छ।
इन्डियम मात्र होइन, चीनले पछिल्ला वर्षहरूमा टङ्स्टन, मोलिब्डेनम, ग्यालियम, जर्मेनियम लगायतका रणनीतिक खनिजको निर्यात नियन्त्रण पनि कडा बनाउँदै आएको छ।
यी सबै धातु रक्षा, अन्तरिक्ष, दूरसञ्चार, सेमिकन्डक्टर र एआई उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्।
विश्लेषकहरूका अनुसार अमेरिका अत्याधुनिक चिप निर्माणमा अग्रस्थानमा भए पनि ती चिप सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ र आपूर्ति शृंखलामा चीनको प्रभाव अझै बलियो छ।
अमेरिकाले अत्याधुनिक एआई चिप चीनमा पुग्न नदिने रणनीति अपनाइरहेको छ भने चीनले ती चिप सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री नियन्त्रण गरेर जवाफ दिइरहेको देखिन्छ।
यसले विश्व प्रविधि प्रतिस्पर्धा अब केवल चिप निर्माणमा सीमित नरही कच्चा पदार्थ, ऊर्जा पूर्वाधार, अप्टिकल नेटवर्किङ र आपूर्ति शृंखलाको नियन्त्रण तर्फ सरेको संकेत दिएको विश्लेषण भइरहेको छ।
