को हुन् गोपालमान श्रेष्ठ?
काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको उपचारका क्रममा मंगलबार २ बजेर ५१ मिनेटमा निधन भएको थियो। श्रेष्ठ क्यान्सर पिडित थिए। उनी केही दिन अगाडि मात्रै कांग्रेसको वरिष्ठ नेता बनेका थिए।
नेता श्रेष्ठ लामो समयदेखि नेपाली लोकतान्त्रिक आन्दोलन र संसदीय राजनीतिमा सक्रिय रहेका प्रभावशाली नेताका रुपमा चिनिन्छन्। स्याङ्जाबाट पटक-पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले विभिन्न महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय भूमिका पनि निर्वाह गरेका छन्।
भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण, उद्योग र शिक्षा मन्त्रालय गरी उनी पाँच चोटी मन्त्री समेत बने। उनी उपप्रधानमन्त्री समेत बनेका थिए भने नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक र तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए।
उनको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको थियो। २०१७ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।
लामो राजनीतिक अनुभव, लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहभागिता र सरकार तथा पार्टीमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाका कारण गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका अग्रणी नेतामध्ये एकका रूपमा चिनिन्छन्।
