`

दुर्गा प्रसाईं पक्राउप्रति धवलशम्सेरको आपत्ति

Nepal One HD १८ साउन २०८३ ११:४३
बिशेष

काठमाडौं। राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका डा. धवलशम्सेर राणाले दुर्गा प्रसाईँको पक्राउलाई लिएर सरकारको आलोचना गरेका छन् ।

राणाले शनिबार विज्ञप्ति जारी गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै आधारमा प्रसाईँलाई पक्राउ गरिएको भए त्यसप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका हुन् ।

प्रसाईँलाई प्रहरीले शुक्रबार राति उनको निवासबाट पक्राउ गरेको थियो । त्यसपछि राणाले सरकारको कदमलाई लोकतान्त्रिक मूल्य र नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर प्रश्न उठाएका छन् ।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारका निर्णयमाथि प्रश्न उठाउने, आलोचना गर्ने र फरक धारणा राख्ने अधिकार नागरिकसँग हुन्छ । आलोचना र असहमतिलाई निषेध गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणाली कमजोर बन्ने उनको तर्क छ ।

‘आलोचना, फरक मत र मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ हुन्,’ राणाले विज्ञप्तिमार्फत भनेका छन् ।

सरकार नागरिकप्रति जवाफदेही बन्नुपर्ने उल्लेख गर्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको आधारभूत पक्षका रूपमा व्याख्या गरेका छन् । सरकारको आलोचना गर्न नपाइने अवस्था सिर्जना भए त्यसलाई लोकतान्त्रिक शासन प्रणाली भन्न नसकिने उनको भनाइ छ ।

राणाले प्रसाईँको पक्राउलाई मानव अधिकार तथा संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँग जोड्दै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

राप्रपाबाट अलग हुने तयारीमा रहेका राणा र प्रसाईँ पछिल्लो समय एउटै राजनीतिक अभियानमा देखिँदै आएका छन् । यही राजनीतिक सहकार्यको पृष्ठभूमिमा प्रसाईँको पक्राउप्रति राणाको प्रतिक्रिया आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *