एक वर्षमा ६७५ जना हराए, ८९ अझै बेपत्ता
काठमाडौं। चितवनमा मानिस बेपत्ता हुने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ।
गत आर्थिक वर्षमा मात्रै ७६४ जना बेपत्ता भएको निवेदन प्रहरीमा परेकोमा ६७५ जनालाई विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। अझै ८९ जना सम्पर्कविहीन छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बेपत्ता भएकाहरूको खोजतलास निरन्तर भइरहेको छ।
उनका अनुसार कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने गरेका छन्। तर घटनाबारे परिवार वा आफन्तलाई तत्काल जानकारी नहुँदा उनीहरू हराएको सूचीमा पर्ने गरेका छन्।
घरबाट बाहिरिएका व्यक्ति पछि आफैं फर्किए पनि प्रहरीलाई जानकारी नगराउने अवस्थाले समेत बेपत्ताको संख्या बढी देखिने गरेको प्रहरीको भनाइ छ। त्यस्तै, प्रहरीमा सुरुमा उपलब्ध गराइएको फोन नम्बर परिवर्तन हुने वा सम्पर्क नहुने अवस्थाका कारण केही व्यक्ति लामो समयसम्म बेपत्ताको सूचीमा रहने गरेका छन्।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा बेपत्ता हुनेको संख्या क्रमशः बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएको निवेदन परेको थियो। तीमध्ये ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजी जारी थियो।
आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ता भएको निवेदन परेकोमा ५४० जना फेला परेका थिए। १३ जना अझै सम्पर्कविहीन थिए।
गत आर्थिक वर्षमा भने बेपत्ता हुनेको संख्या बढेर ७६४ पुगेको हो। तीमध्ये ६७५ जना फेला परे पनि ८९ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
जिल्लामा घरेलु हिंसासम्बन्धी उजुरीको संख्या पनि उल्लेख्य रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन प्रहरीमा परेका थिए।
तीमध्ये ३०५ वटा निवेदनमा मिलापत्र भएको छ भने ७१ वटा अदालतमा पुगेका छन्। पाँच निवेदन भने अझै छलफलको क्रममा रहेका छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसासम्बन्धी ५४२ निवेदन परेको थियो। त्यसमध्ये ४६९ वटा मिलापत्रबाट टुंगिएका थिए भने ७३ वटा मिलापत्र हुन नसकेपछि अदालत पुगेका थिए।
आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसासम्बन्धी निवेदन परेकोमा ४११ वटा मिलापत्र भएका थिए। बाँकी ७९ वटा अदालतमा दर्ता भएका थिए।
प्रहरी कार्यालयमा विभिन्न विषयसँग सम्बन्धित ठाडा उजुरीको चाप पनि देखिएको छ। सोही अवधिमा दुई हजार ३०५ वटा ठाडा उजुरी परेको कार्यालयको तथ्याङ्क छ।
तीमध्ये एक हजार ८७८ उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए भने जिल्ला प्रशासन कार्यालयबाट ४२७ वटा उजुरी प्राप्त भएका थिए।
प्रहरीका अनुसार प्राप्त उजुरीमध्ये दुई हजार १०८ वटा मिलापत्र तथा अन्य प्रक्रियाबाट फर्छ्योट भइसकेका छन्। १९७ वटा उजुरी भने अझै फर्छ्योट हुन बाँकी छन्।
यसरी जिल्लाको पछिल्लो प्रहरी तथ्याङ्कले बेपत्ता हुनेको संख्या, घरेलु हिंसाका उजुरी र विभिन्न प्रकृतिका विवादमा प्रहरीसमक्ष पुग्ने निवेदनको अवस्थालाई स्थानीय सामाजिक समस्याको महत्वपूर्ण सूचकका रूपमा देखाएको छ।
