इङ्ग्लिस अलराउन्डर जैब सुदूरपश्चिममा
काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
जैब एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट हात पारेका थिए।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले घरेलु क्रिकेटमा भने निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी–२० क्रिकेटमा ११२ खेल खेल्दै १ हजार ७९२ भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।
भाइटालिटी ब्लास्टमा मात्रै उनले १ हजार ६०० भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट आर्म बलिङ गर्ने जैबले टी–२० क्रिकेटमा २३ विकेटसमेत लिएका छन्।
जैबले पछिल्लो समय भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाउँदै उत्कृष्ट लय कायम राखेका छन्। नेपाल फर्किन पाउँदा खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु।’
सुदूरपश्चिम रोयल्सले यसअघि कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको थियो।
त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो। जैबको आगमनसँगै सुदूरपश्चिमको टोली थप बलियो बनेको अपेक्षा गरिएको छ।
