`

‘संसार बदल्न खोज्ने तर आफू बदलिन नखोज्ने प्रवृत्ति खतरनाक हुन्छ’

Nepal One HD ३१ साउन २०८३ १२:३१
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नागरिक चेतना, मानवीय संवेदना र जिम्मेवारी बोध कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा विचार सार्वजनिक गर्दै कुँवरले प्रविधिको विकाससँगै मानिसको अभिव्यक्ति सहज भए पनि त्यसको प्रयोग गर्ने संस्कार र जिम्मेवारीमा भने प्रश्न उठ्न थालेको बताएकी हुन्।

उनले सामाजिक सञ्जालमा व्यक्त हुने कतिपय अभिव्यक्तिले मानवीय संवेदनशीलता हराउँदै गएको देखाउने उल्लेख गरेकी छन्। ‘सञ्जालले सहज बनाएको हाम्रो अभिव्यक्ति र त्यही सञ्जालले जन्माएको हाम्रो राक्षसी मानसिकता देख्दा कहिलेकाहीँ लाग्छ, हामीले प्रविधि त धेरै छिटो सिक्यौँ, तर मान्छे भएर बाँच्न भने बिर्सिंदै गयौँ,’ उनले लेखेकी छन्।

कुँवरले मानिसको सोच र बुझाइ समयसँगै परिवर्तन हुने बताउँदै उमेर, परिवेश र जीवनका विभिन्न घटनाले व्यक्तिको दृष्टिकोण निर्माण गर्ने धारणा राखेकी छन्। त्यसैले अरूको जीवन, विचार वा निर्णयमाथि टिप्पणी गर्नुअघि आफूले समाज र आफ्नै जिम्मेवारीप्रति पर्याप्त ध्यान दिएको छ कि छैन भन्ने प्रश्न गर्नुपर्ने उनको भनाइ छ।

उनले देशमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयसँगै नागरिक चेतना र जिम्मेवारी बोधलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

अधिकार र स्वतन्त्रताको चर्चा गर्दा आफ्नो जिम्मेवारीलाई बिर्सन नहुनेमा पनि उनले जोड दिएकी छन्। सामाजिक सञ्जालमा आफूलाई लागेको कुरा बोल्न पाउने अधिकार भए पनि त्यसले अरू व्यक्तिको सम्मान, अस्तित्व र स्वतन्त्रतामाथि असर पार्न नहुने उनको तर्क छ।

कुँवरले प्रश्न गरेकी छन्, ‘हामी साँच्चिकै स्वतन्त्र हुँदैछौँ कि आफ्ना शब्दहरूलाई स्वतन्त्र बनाउँदैछौँ ? हामी साँच्चिकै चेतनशील हुँदैछौँ कि अरूको जीवनमा निर्णय सुनाउन मात्र अभ्यस्त हुँदैछौँ ?’

उनका अनुसार स्वतन्त्रता आफूले बोल्न पाउने अधिकारमा मात्र सीमित हुँदैन। अरू व्यक्तिलाई पनि आफ्नै अस्तित्व र पहिचानसहित बाँच्न दिने संस्कार विकास हुनु वास्तविक स्वतन्त्रताको आधार हो।

सामाजिक परिवर्तनका नाममा अरूलाई बदल्न खोज्ने तर आफूभित्र परिवर्तन गर्न नचाहने प्रवृत्तिलाई उनले खतरनाक भनेकी छन्। समाज परिवर्तनको सुरुवात व्यक्तिको आफ्नै व्यवहार र सोचबाट हुनुपर्ने उनको धारणा छ।

‘संसार बदल्न खोज्ने तर आफू बदलिन नखोज्ने प्रवृत्ति खतरनाक हुन्छ,’ उनको भनाइ छ। समाजलाई बदल्नुअघि आफूलाई बदल्न सके मात्र स्वतन्त्रता र चेतनाको वास्तविक अर्थ व्यवहारमा देखिने उनको निष्कर्ष छ।

सामाजिक सञ्जालको प्रयोग व्यापक बन्दै गएको समयमा सार्वजनिक अभिव्यक्तिमा देखिने असहिष्णुता, व्यक्तिगत टिप्पणी र अरूको जीवनमाथि अनावश्यक हस्तक्षेपप्रति उनको टिप्पणीलाई नागरिक जिम्मेवारी र डिजिटल संस्कारसँग जोडेर हेर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *