`

कम्युनिटी शिल्डमा आज आर्सनल-सिटी भिड्दै

Nepal One HD ३१ साउन २०८३ १३:०३
खेलकुद

काठमाडौं। इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुनुअघि आज आर्सनल र म्यानचेस्टर सिटी कम्युनिटी शिल्डको उपाधिका लागि आमनेसामने हुँदैछन्।

गत सिजन प्रिमियर लिग च्याम्पियन बनेको आर्सनल र एफए कप विजेता सिटीबीचको खेललाई नयाँ सिजनको पहिलो ठूलो प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

कम्युनिटी शिल्डको उपाधि प्रतिष्ठाको विषय भए पनि यसको नतिजाले आगामी प्रिमियर लिगको सम्भावनाबारे स्पष्ट संकेत गर्छ भन्ने छैन। पछिल्लो इतिहासले समेत शिल्डको नतिजा र त्यसपछिको लिग सफलताबीच बलियो सम्बन्ध नरहेको देखाउँछ।

प्रिमियर लिग सुरु भएयता ३४ पटक कम्युनिटी शिल्ड आयोजना हुँदा शिल्ड जित्ने टोलीमध्ये  आठ टोलीले मात्र सोही सिजन प्रिमियर लिगको उपाधि जितेका छन्। अझ पछिल्लो १५ संस्करणलाई हेर्दा शिल्ड जितेर त्यही सिजन प्रिमियर लिग जित्ने टोलीको संख्या एकमा सीमित छ।

रोचक पक्ष के छ भने कम्युनिटी शिल्डमा पराजित हुने टोलीले भने त्यसपछिको सिजनमा १० पटक प्रिमियर लिग उपाधि जितेका छन्। यसले शिल्डको नतिजाभन्दा नियमित सिजनमा देखाउने निरन्तरता र प्रदर्शन नै लिग उपाधिका लागि निर्णायक हुने संकेत गर्छ।

आजको खेलमा आर्सनल गत सिजनको सफलतालाई निरन्तरता दिँदै नयाँ सिजनमा पनि उपाधि दौडमा आफ्नो दाबी बलियो बनाउने लक्ष्यमा हुनेछ। घरेलु लिगको उपाधि रक्षा गर्ने अभियान सुरु गर्नुअघि कम्युनिटी शिल्ड जित्दा टोलीको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।

अर्कोतर्फ सिटीका लागि यो खेल पछिल्लो समय गुमेको लिग वर्चस्व पुनः हासिल गर्ने अभियानको सुरुवाती परीक्षा हुनेछ। एफए कप जितेर सिजन टुंग्याएको सिटीले कम्युनिटी शिल्ड जित्दै नयाँ सिजनको सुरुवात सकारात्मक बनाउन चाहनेछ।

दुवै टोली प्रिमियर लिगका बलिया दाबेदार भएकाले खेललाई नयाँ सिजनअघि शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। नयाँ खेलाडीको संयोजन, टोलीको तयारी, रणनीतिक अवस्था र उपाधि दौडमा दुई टोलीको सम्भावनाको प्रारम्भिक संकेत आजको खेलबाट देखिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *