ग्यासका लागि बिहानैदेखि लाइन, काठमाडौंका सात ठाउँमा विशेष बिक्री
काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था गरेसँगै तोकिएका वितरण केन्द्रमा उपभोक्ताको ठूलो भीड लागेको छ।
निगमको टेकु परिसरलगायत विभिन्न स्थानमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ।
नियमित विक्रेताबाट ग्यास पाउन समस्या भएका तथा तत्काल ग्यास आवश्यक पर्ने उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा आइतबार उपत्यकाका सात स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था गरिएको हो।
निगमका अनुसार तोकिएका केन्द्रबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ। ग्यास लिन जाने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ।
विशेष बिक्रीका लागि निगमले विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराएको छ। टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सागर ग्यास बिक्री भइरहेको छ।
त्यस्तै, पशु सेवा शाखा, चपली बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास वितरण भइरहेको छ।
नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास बिक्री गर्ने व्यवस्था गरिएको छ।
यसैगरी, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री भइरहेको निगमले जनाएको छ।
ग्यास वितरणका लागि तोकिएका स्थानमा उपभोक्ताको संख्या ठूलो भएपछि बिहानैदेखि लामो लाइन लागेको हो। नियमित आपूर्तिमा समस्या देखिएपछि तत्काल ग्यास आवश्यक परेका उपभोक्तालाई सहज बनाउन विशेष बिक्रीको व्यवस्था गरिएको निगमले जनाएको छ।
उपभोक्ताहरूले भने लामो समय लाइनमा बस्नुपरेको र ग्यास पाउने निश्चितता नहुँदा समस्या भएको बताएका छन्। विशेष बिक्रीका केन्द्रमा मागअनुसार पर्याप्त सिलिन्डर उपलब्ध गराउन सके मात्र तत्कालको समस्या केही हदसम्म समाधान हुने देखिएको छ।
यसअघि पनि काठमाडौंका विभिन्न स्थानबाट निगम र जिल्ला प्रशासनको समन्वयमा ग्यास वितरण गरिएको थियो।
निगमले भने एलपी ग्यासको आयात नियमित रहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्रीवितरण गरिरहेको बताउँदै आएको छ।















