`

बन्द रबर उद्योग ब्युँताउन सरकारले कम्मर कस्यो

Nepal One HD १ भदौ २०८३ १३:२४
अर्थ समाचार

काठमाडौं। लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने पहल सुरु भएको छ।

उद्योगको वर्तमान अवस्था, कानुनी जटिलता र आर्थिक सम्भावनाबारे अध्ययन गर्न विज्ञसहितको टोलीले उद्योग परिसरको अनुगमन गरेको हो।

गोरखा-२ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीको नेतृत्वमा अर्थ, उद्योग तथा कानुन मन्त्रालयका प्रतिनिधिसहितको टोलीले गोरखा नगरपालिका-१३ स्थित उद्योगको स्थलगत अध्ययन गरेको छ।

उद्योग पुनः सञ्चालनका लागि आवश्यक कानुनी र आर्थिक पक्षको अध्ययन गरिने सांसद बुर्लाकोटीले बताएका छन्। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा उद्योग सञ्चालन गर्न आवश्यक स्रोत, लगानी र व्यवस्थापनसम्बन्धी आर्थिक प्रस्ताव तयार गर्ने तयारीसमेत गरिएको छ।

गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा २०४१ सालमा स्थापना भएको थियो। उद्योगले २०५० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

उद्योगले ट्रक, जीप, भ्यान तथा कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको थियो। कुनै समय नेपाली बजारमा उद्योगको उत्पादनको राम्रो माग थियो। स्वदेशी बजारमा मात्र सीमित नरही उद्योगले भारत, बङ्गलादेश र श्रीलङ्कालगायतका मुलुकमा समेत टायर निर्यात गरेको थियो।

तर पछिल्लो समय आर्थिक तथा व्यवस्थापकीय समस्या बढ्दै गएपछि उद्योग संकटमा पर्दै गयो। अन्ततः २०७१ चैत २३ गतेदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो।

वर्षौँदेखि उत्पादन रोकिँदा उद्योगभित्र रहेका मेसिन, उपकरण तथा भौतिक संरचना लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन्। उद्योग पुनः सञ्चालन गर्न ती संरचनाको अवस्था, मर्मतसम्भारको आवश्यकता, नयाँ प्रविधि र आवश्यक लगानीबारे विस्तृत अध्ययन गर्नुपर्ने देखिएको छ।

विज्ञ टोलीको स्थलगत अध्ययनपछि उद्योग सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक र आर्थिक पक्ष पहिचान गर्ने तयारी गरिएको छ।

लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको उद्योग पुनः सञ्चालनमा आए स्वदेशमै टायर उत्पादनको सम्भावना बढ्नुका साथै रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा समेत योगदान पुग्न सक्ने अपेक्षा गरिएको छ।

अब विज्ञ टोलीको अध्ययन र त्यसबाट आउने निष्कर्षका आधारमा गोरखकाली रबर उद्योगलाई कुन मोडेलबाट, कति लगानीमा र कसरी पुनः सञ्चालन गर्ने भन्ने टुंगो लाग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *