काभ्रे खानीखोला जिप दुर्घटनामा २ जनाको मृत्यु, ३ गम्भीर घाइते
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती-तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा खानीखोला गाउँपालिका-१ निवासी कलबहादुर माझीको मृत्यु भएको छ। उनी जिपमा सवार ताराबहादुर माझीका बुबा रहेको बताइएको छ। दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जिपमा सवार ताराबहादुर माझीले भने हाम फालेर ज्यान जोगाएका छन्। उनी सामान्य घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको उद्धारका लागि हेलिकप्टर झिकाउने तयारी भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिएका छन्।
घटनालगत्तै उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।
प्रारम्भिक जानकारीअनुसार जिपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।
दुर्गम क्षेत्रमा भएको दुर्घटनाका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। घटनास्थलमा पुगेपछि प्रहरीले दुर्घटनाको थप विवरण संकलन गर्ने तथा मृतकको पहिचान र घाइतेहरूको अवस्थाबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।
