बाढीमा आफू बचे, सात साथीको ज्यान पनि जोगाए राजेन्द्रले
काठमाडौं। ‘बाढी आइरहेको छ, हेर त ।’
रातभरको ड्युटी सकेर कोठामा फर्किएका रसुवामा कार्यरत राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए। बाहिर निस्केर हेर्दा आफूहरू बसेको ठाउँभन्दा करिब ८० मिटर तलको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो।
रसुवामा साढे दुई वर्षदेखि काम गरिरहेका राजेन्द्रलाई खोलाको सामान्य अवस्था थाहा थियो। त्यस बिहानको दृश्य भने उनले यसअघि कहिल्यै देखेका थिएनन्।
बिहान ६ बजे रातिको ड्युटी सकेर कोठामा फर्किएका उनले हातमुख धोएर खाजा खाएका थिए। केहीबेर आराम गर्ने तयारीमा रहेका बेला साथीले बाढी आएको खबर गरेपछि उनी हतारिँदै बाहिर निस्किए।
खोलाको अवस्था देखेपछि उनी कोठामा फर्किए र रातिको ड्युटी सकेर सुतिरहेका सालो नवीन स्याङ्तानसहित अर्का साथीलाई उठाए। तीनै जना सुरक्षित ठाउँतर्फ भाग्न थाले। तर केही क्षणमै उनीहरूले भागिरहेको बाटोसमेत बाढीले छेक्यो।
‘बाटोतिर भाग्न खोज्दा त्यतैबाट बाढी आयो। बम पड्किएजस्तो आवाज थियो। ठूला–ठूला ढुंगा आइरहेका थिए,’ राजेन्द्रले त्यो क्षण सम्झिए, ‘हामी बसेको कोठाबाट निस्किएर भाग्दा–भाग्दै कोठा नै गइसक्यो। त्यहाँ सुतेका मान्छे उठ्नै पाएनन्।’
भाग्ने बाटो बन्द भएपछि राजेन्द्रसहितका कामदार नजिकै चिनियाँ कामदार बस्ने मेसतर्फ पुगे। तर त्यहाँ पनि सुरक्षित रूपमा माथि जाने बाटो थिएन। बाढीले संरचना भत्काउँदै थियो। तल राखिएका ग्यास सिलिन्डरलगायत सामानसमेत पानीले बगाइरहेको थियो। चारैतिर भागदौड र चिच्याहट थियो।
त्यतिबेला राजेन्द्रलाई आफू बाँच्ने आशासमेत हराइसकेको थियो।
‘अब बाँचे बाँच्छौँ, मरे मर्छौँ भन्ने भइसकेको थियो। भाग्ने ठाउँ नै थिएन,’ उनले भने।
तर त्यही अवस्थामा उनले बाहिर निस्कने बाटो खोजे। एउटा ढोका फोरेर झ्यालबाट बाहिरिए। त्यसपछि पर्खाल चढेर माथिल्लो भागमा पुगे।
आफू सुरक्षित भएपछि पनि उनको भागदौड रोकिएन। तल फसेका साथीहरूलाई एक–एक गर्दै माथि तान्न थाले। सुरुमा एक चिनियाँ कामदारलाई निकाल्ने प्रयास गरे, तर सफल भएनन्। त्यसपछि साथी सुजन गोलेसहित अरूलाई माथि तान्दै लगे।
अन्तिमतिर आफ्नै सालो नवीन तल आत्तिएर माथि आउन सकिरहेका थिएनन्।
‘मैले बोलाएको बोलायै गरेँ। बल्ल ऊ आयो र उसलाई पनि तानेँ,’ राजेन्द्रले भने, ‘त्यसरी सात जनालाई माथि तानेर बचाउन सकेँ।’
हेटौँडा उपमहानगरपालिका–१५ का नवीन रसुवा पुगेको १२ दिन मात्रै भएको थियो। पहिलोपटक कामका लागि त्यहाँ पुगेका उनी पनि रातिको ड्युटी सकेर कोठामा सुतिरहेका थिए।
‘म सुतिरहेको थिएँ। भिनाजुले उठाएर लैजानुभयो। उहाँले तानेर नै म बाँच्न सफल भएँ,’ नवीनले भने, ‘धेरै साथी आँखा अगाडि नै बाढीमा परे, हामीचाहिँ बाँच्यौँ।’
ज्यान जोगाएर माथिल्लो सुरक्षित स्थानमा पुगेपछि राजेन्द्रले घरमा फोन गरे। मोबाइलमा चार्ज कम थियो। परिवारसँग लामो कुराकानी गर्ने अवस्था थिएन। आफू सुरक्षित रहेको र चिन्ता नगर्न भनेपछि मोबाइल बन्द भयो।
राजेन्द्रकी श्रीमती करिश्मासिंह तामाङका लागि त्यो छोटो फोन नै ठूलो आशा बन्यो।
‘उहाँले म सुरक्षित छु, चिन्ता नगर भन्नुभएको थियो। त्यसपछि सम्पर्क भएन,’ उनले भनिन्, ‘धेरै प्रयास गर्यौँ तर फोन लागेन। त्यही कुराले उहाँ फर्केर आउनुहुन्छ भन्ने आशा थियो।’
करिश्मालाई श्रीमान्को मात्रै चिन्ता थिएन। भाइ नवीन पनि त्यही क्षेत्रमा थिए। श्रीमान् र भाइ दुवैसँग सम्पर्क टुटेपछि परिवारको बेचैनी झन् बढ्यो।
उता राजेन्द्र र नवीनसहित अन्य कामदारहरू तत्काल बाहिर निस्कन सक्ने अवस्थामा थिएनन्। उनीहरूले नजिकैको विद्यालयमा आश्रय लिए। उद्धार नहुँदासम्म त्यहीँ बस्नुपर्यो।
राजेन्द्रका अनुसार उनीहरू पाँच दिनसम्म विद्यालयमै बसे। सहज खाना र बसोबासको व्यवस्था थिएन। बिस्कुट, चाउचाउलगायत जे उपलब्ध हुन्थ्यो, त्यसैको भरमा दिन काटे।
एकातिर बाढीमा सहकर्मी गुमाएको पीडा थियो, अर्कोतिर आफू कहिले घर फर्कन पाइन्छ भन्ने अनिश्चितता।
यता हेटौँडामा परिवारले उनीहरूको अवस्थाबारे जानकारी खोजिरहेको थियो। हेटौँडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तानका अनुसार राजेन्द्र र नवीनको अवस्थाबारे विभिन्न निकायसँग समन्वय गरिएको थियो।
गृह मन्त्रालय, मुख्यमन्त्रीको सचिवालय र जिल्ला प्रशासनसँग समन्वय गर्ने क्रममा सुरक्षित स्थानमा बसेका व्यक्तिहरूको एउटा भिडियो प्राप्त भयो। उक्त भिडियो परिवारलाई पठाएर आफ्ना मान्छे पहिचान गर्न भनियो।
त्यही भिडियोमा परिवारले नवीनलाई देख्यो।
‘भिडियोमा आफ्नो मान्छे देखिएपछि मात्रै हामी ढुक्क भयौँ,’ वडाध्यक्ष मोक्तानले भने।
त्यसपछि उनीहरूलाई सुरक्षित रूपमा बाहिर ल्याउने प्रयास जारी रह्यो। अन्ततः नेपाली सेनाको हेलिकप्टरमार्फत राजेन्द्र र नवीनसहित अन्यलाई उद्धार गरियो।
राजेन्द्रका अनुसार हेलिकप्टरले उनीहरूलाई धुन्चेसम्म ल्याएको थियो। त्यसपछि सवारीसाधनमार्फत काठमाडौं हुँदै उनीहरू हेटौँडा पुगे।
धेरै दिनको प्रतीक्षापछि राजेन्द्र र नवीन सकुशल घर फर्किए। तर उनीहरू फर्किंदा आफ्ना सामान मात्रै होइन, सँगै काम गरेका धेरै साथी पनि गुमाइसकेका थिए।
राजेन्द्रकी सासूआमालाई बाढी र त्यसपछिको घटनाक्रम अझै सपनाजस्तै लागिरहेको छ।
‘धन्न जोगिएर आए। अरूलाई पनि जोगाउनु भएछ,’ उनले भनिन्।
वडाध्यक्ष मोक्तानका अनुसार बाढीमा वडाका दुई जनाको मृत्यु भइसकेको छ भने हिरा स्याङ्तान अझै सम्पर्कविहीन छन्।
‘देश नै रोइरहेको बेला खुसी छौँ भन्न त मिल्दैन,’ मोक्तानले भने, ‘तर हाम्रा दुई भाइ जीवित भएर फर्किए, त्यसमा हामीलाई राहत महसुस भएको छ।’
वडाले राजेन्द्र र नवीनको स्वास्थ्य उपचार तथा बाढीमा हराएका नागरिकतालगायत आवश्यक कागजात पुनः बनाउन सहयोग गर्ने जनाएको छ।
रोजगारीका कारण राजेन्द्र साढे दुई वर्षदेखि रसुवामा थिए। नवीन भने काम थालेको १२ दिनमै विपत्तिमा परे। बाढीले उनीहरूका लत्ताकपडा र कागजात बगायो। सँगै काम गरेका कतिपय साथी फर्किएनन्।
पाँच दिन विद्यालयमा उद्धारको प्रतीक्षा गरेर छैटौँ दिन घरतर्फ लागेका राजेन्द्र र नवीन अहिले परिवारको साथमा छन्।
बाढी आएको त्यो बिहान राजेन्द्रलाई आफू बाँच्ने आशासमेत थिएन। तर ज्यान जोगाएपछि उनले आफू मात्रै बाँच्ने बाटो रोजेनन्। जोखिम मोलेर तल फसेका साथीहरूलाई माथि ताने।
आफू बाँच्नु एउटा संयोग थियो, तर अरूलाई बचाउन फर्किनु राजेन्द्रको निर्णय।
